फिल्म ‘मितज्यू’को गीत ‘गैराघरे काँइली’ रिलिज भएको छोटो समयमै युट्युबको म्युजिक ट्रेन्डिङ चार्टको शीर्ष स्थानमा पुगेको छ। ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको यो गीतले रिलिजसँगै दर्शक–श्रोताको उल्लेखनीय साथ पाएको छ।
लोकलयमा आधारित यस गीतलाई दर्शकले निकै रुचाएका छन् र अहिले पनि ट्रेन्डिङ वानमै कायम रहने संकेत देखिएको छ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगर देखिएका छन्। भिडियोमा सौगात मल्ल र तेरिया फौजा मगरको नृत्य प्रस्तुतिलाई विशेष रूपमा रुचाइएको छ भने दयाहाङ राईको अभिनयलाई कथासँग जोडेर प्रस्तुत गरिएको छ।
गीतमा श्रीकृष्ण बम मल्ल र मेलिना राईको स्वर रहेको छ। शब्द र संगीत पनि श्रीकृष्ण बम मल्लकै हो। मिङ्मा डी लेप्चाको कोरियोग्राफी रहेको भिडियो गाउँले परिवेशमा आधारित छ, जसले दर्शकलाई अझ बढी आकर्षित गरेको निर्माण पक्षको विश्वास छ।
जनक घर्ती मगरको निर्माण रहेको फिल्म ‘मितज्यू’लाई अनिल बुढा मगरले निर्देशन गरेका हुन्। फिल्ममा पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई र खड्गबहादुर पुन मगर (खबपु) लगायतको अभिनय छ। यही फिल्ममार्फत तेरिया फौजा मगरले अभिनेत्रीको रूपमा डेब्यु गरेकी हुन्।
जीएम मुभिज प्रोडक्सनको ब्यानरमा बनेको फिल्मको छायांकन शिशिर बिशंखेले गरेका हुन् भने सम्पादन लोकेश बज्राचार्यले गरेका छन्। मुख्य सहायक निर्देशन फिरोज खड्काले गरेका छन्।
फिल्मको डिजिटल अधिकार ओएसआरले लिएको छ भने आरआर फिल्म्सले वितरणको जिम्मा लिएको छ।