‘मालती मंगले’को गीत ‘ढुङ्गा माथि लेऊ’ सार्वजनिक, विजय–वर्षा देखिए शाहरुख–काजोल अवतारमा

0 Shares

काठमाडौं । गायक रामकृष्ण ढकालको निर्माण तथा प्रस्तुति रहेको प्रतीक्षित फिल्म ‘मालती मंगले’को दोस्रो गीत ‘ढुङ्गा माथि लेऊ’ सार्वजनिक गरिएको छ। आगामी वैशाख २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको यस गीतले रिलिजसँगै चर्चा बटुलिरहेको छ।

गीतमा विजय बराल र वर्षा राउतलाई रोमान्टिक अन्दाजमा प्रस्तुत गरिएको छ। विशेष कुरा के छ भने, भिडियोमा उनीहरू शाहरुख खान र काजोलको प्रसिद्ध शैलीमा देखिएका छन्, जुन मोहब्बते फिल्मको झल्को दिने गरी तयार गरिएको हो।निर्माता रामकृष्ण ढकालका अनुसार फिल्मको कथामा वर्षाको पात्रले विजयमा शाहरुखको छवि देख्ने भएकाले गीतमा यस्तो रचनात्मक प्रस्तुति गरिएको हो।

रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्मको यस गीतमा रामकृष्ण ढकाल र ऋतिका श्रेष्ठको स्वर रहेको छ। गीतमा हर्क साउदको शब्द तथा एसडी योगीको संगीत रहेको छ भने रिकेश गुरुङले एरेन्ज गरेका छन्।

गीतको भिडियो अर्जुन तिवारीले छायांकन गरेका हुन् भने कोरियोग्राफी रोशन बिकको रहेको छ।

यसअघि फिल्मको शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक भइसकेको छ। फिल्मको नामले माधवप्रसाद घिमिरेको चर्चित गीतिनाटकको झल्को दिए पनि निर्माता ढकालले यो पूर्णतः नयाँ र समाजमा आधारित साङ्गीतिक प्रेमकथा भएको स्पष्ट पारेका छन्।

प्रकु पाण्डेयको निर्देशनमा बनेको फिल्मको कथा स्वयं निर्देशकले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईंले तयार पारेका हुन्। कार्यकारी निर्माता सागर ज्ञवाली हुन्।

फिल्ममा विजय बराल, वर्षा राउत र मेक्सम गौडेल मुख्य भूमिकामा छन्। साथै नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम लगायतका कलाकारहरूको अभिनय रहेको छ।

छायांकन महेश पौडेलले गरेका छन् भने सम्पादन रोमी मोजेज, कलर ग्रेडिङ कृष्ण भण्डारी र ध्वनि मिश्रण डिकेश खड्गीले गरेका छन्। डिजिटल वितरण ओएसआर डिजिटल र थिएटर वितरण आरआर फिल्म्सले गर्नेछन्।

फिल्मको साङ्गीतिक पक्ष र कथावस्तुका कारण वैशाख २५ को प्रदर्शनलाई लिएर दर्शकमाझ उत्साह बढ्दो छ।

सम्बन्धित समाचार

सबै