काठमाडौं । मुनलाइट मोसन पिक्चर्सले आफ्नो आगामी फिल्म प्रोजेक्टबारे सञ्चारमाध्यममा फैलिएका समाचारहरू अपुष्ट र भ्रामक रहेको स्पष्ट पारेको छ।
बुधबार जारी प्रेस विज्ञप्तिमा कम्पनीले फिल्मको शीर्षक, निर्देशक र कलाकार सम्बन्धी बाहिर आएका विवरणहरूमा कुनै सत्यता नरहेको बताउँदै ती सबै अड्कलबाजी मात्र भएको उल्लेख गरेको हो।
कम्पनीका अनुसार नयाँ प्रोजेक्टका लागि कलाकार छनोट (अडिसन) प्रक्रिया अझै जारी छ। हालसम्म कुनै पनि कलाकार वा प्राविधिक टिमको अन्तिम टुंगो लागिसकेको छैन। यस्तो अवस्थामा बजारमा चर्चामा आएका नाम र विवरणहरूबाट भ्रमित नहुन कम्पनीले दर्शक र सञ्चारकर्मीहरूलाई आग्रह गरेको छ।
कम्पनीले तथ्य नबुझी गरिने समाचारले निर्माण प्रक्रिया मात्र नभई समग्र फिल्म उद्योगको व्यावसायिकतामा असर पर्ने चेतावनी दिएको छ।
साथै, मुनलाइट मोसन पिक्चर्सले छिट्टै नै एक ग्रान्ड इभेन्ट आयोजना गरेर फिल्मको शीर्षक, मुख्य कलाकार र निर्माण टिमबारे आधिकारिक जानकारी सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ।
विश्वसनीय र तथ्यमा आधारित पत्रकारिताले मात्र नेपाली फिल्म उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सहयोग गर्ने विश्वास व्यक्त गर्दै कम्पनीले सञ्चारमाध्यम र दर्शकबाट सकारात्मक सहयोगको अपेक्षा गरेको छ।