‘माइ डटर्ज हेयर’बाट सुरु भयो निफ: ४० देशका ८८ फिल्म प्रदर्शन हुँदै

0 Shares

काठमाडौं । नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ। नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ)को उद्घाटन इरानी निर्देशक हिशान्त फराहमन्दको फिल्म ‘माइ डटर्ज हेयर’ प्रदर्शनसँगै गरिएको हो।

सुन्धारास्थित सिभिल मलको क्यूएफएक्स हलमा सम्पन्न उद्घाटन समारोहमा नेपाल सरकारकी सञ्चार सचिव लक्ष्मीकुमारी बस्नेत प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्।

विशेष अतिथिहरूमा नेपालका लागि ब्राजिलका राजदूत कार्लोस अल्बर्टो डेन हार्टोग, पाकिस्तानी राजदूत अब्रार एच हास्मी, श्रीलंकाली राजदूत रुवन्थी डेलपिटिया, दिनेश डीसी र बलिउड फिल्म शोलेका निर्देशक रमेश सिप्पी सहभागी थिए।

कार्यक्रममा प्रेम बस्नेत, चैत्यदेवी सिंह र समुद्र रेग्मी लगायत चलचित्रकर्मीहरूको पनि उपस्थिति थियो।

प्रमुख अतिथि बस्नेतले निफले नेपाली फिल्मको बजार विस्तार र अन्तर्राष्ट्रिय सम्बन्ध मजबुत बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरिन्। राजदूतहरूले पनि महोत्सवको सफलताको कामना व्यक्त गरेका थिए।

निर्देशक रमेश सिप्पीले एआईको युगमा पनि फिल्म महोत्सवहरूको महत्त्व अझै कायम रहेको बताए।

निफ अध्यक्ष केपी पाठकले सहभागी सबै अतिथि, चलचित्रकर्मी र सञ्चारकर्मीप्रति आभार व्यक्त गरे।

यस वर्ष निफमा ४० देशका ८८ फिल्महरू प्रदर्शन गरिनेछन्। ६ चिनियाँ र ४ रुसी फिल्म विशेष प्रदर्शनमा रहनेछन्।

रसियन हाउसमा ‘रुसियन फिल्म डेज’ आयोजना गरिनेछ, जहाँ फिल्महरू निःशुल्क हेर्न पाइनेछ। साथै, ‘सिजाङ प्यानोरमा’ अन्तर्गत चिनियाँ फिल्म तथा वृत्तचित्रहरू पर्यटन बोर्ड र छायाँ सेन्टरमा पनि निःशुल्क प्रदर्शन गरिनेछन्।

प्रतिस्पर्धात्मक फिल्महरू भने सिभिल मल र छायाँ सेन्टरमा सशुल्क प्रदर्शन हुनेछन्। साथै, निफ अन्तर्गत १० वटा अन्तर्क्रियात्मक कार्यक्रमहरू पनि आयोजना गरिनेछन्, जहाँ विभिन्न देशका फिल्ममेकरहरूले आफ्नो अनुभव साटासाट गर्नेछन्।

सम्बन्धित समाचार

सबै