सस्पेन्स, प्रेम र एक्सनले भरिएको ‘राम नाम सत्य’को ट्रेलर सार्वजनिक

0 Shares

काठमाडौं । आगामी चैत्र २७ गते सोलो रिलिजमा आउन लागेको फिल्म ‘राम नाम सत्य’को बहुप्रतिक्षित ट्रेलर सार्वजनिक गरिएको छ। काठमाडौंको वान सिनेमाज हलमा आयोजित कार्यक्रममा माइकल चन्दको कथा, पटकथा तथा निर्देशनमा बनेको फिल्मको ट्रेलर रिलिज गरिएको हो।

सार्वजनिक ट्रेलरमा विराज भट्टको दमदार एक्सन र शक्तिशाली संवादले विशेष ध्यान तानेको छ। साथै सुशील श्रेष्ठदिव्या रायमाझीबीचको प्रेमकथा तथा विराज र सुशीलबीचको द्वन्द्वात्मक एक्सन पनि समेटिएको छ।

फिल्ममा नव–नायक आयुष सिंह ठकुरीको भूमिका रहस्यमय देखिएको छ, जसले दर्शकमा उत्सुकता थप्ने देखिन्छ। यस्तै, नव–नायिका खुशी कार्कीले विराज भट्टसँग नृत्य गरेको ‘हुम्लाको सिमी’ गीत पनि चर्चामा छ।

फिल्ममा दिनेश डीसी, सुधिर श्रेष्ठ, आशा पौडेल, सन्तोष सरकार, विकास खनाल, सुशान्त कुमार श्रेष्ठ, उपेन्द्र शाही, रामेश्वर शाह, कनिज कोइराला लगायतका कलाकारहरूको अभिनय रहेको छ। बाल–कलाकारमा आयुष विक्रम शाही, अधिराज चन्द, संरचना चन्द र श्रृङ्खला बिष्ट देखिनेछन्।

माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा बनेको फिल्ममा उपेन्द्र शाही र स्वेता विमलीको लगानी रहेको छ। कार्यकारी निर्मातामा किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार रहेका छन् भने सह–निर्मातामा तेजराज चटौत र दमन बहादुर चन्द छन्।

फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवाज अन्सारीको संगीत रहेको छ। छायांकन मानकृष्ण महर्जनले गरेका हुन् भने एक्सन निर्देशन श्री श्रेष्ठ, सम्पादन बन्दे प्रसाद र ब्याकग्राउन्ड म्युजिक काला चरणको रहेको छ।

कार्यक्रममा बोल्दै अभिनेता विराज भट्टले भने, “यो फिल्ममा एक्सन मात्र होइन, प्रेम, सस्पेन्स र पारिवारिक कथा पनि छ। दर्शकले अवश्य मन पराउनुहुन्छ भन्ने विश्वास छ।”

अभिनेता सुशील श्रेष्ठ, अभिनेत्री दिव्या रायमाझी र सुपुष्पा भट्टले पनि फिल्मप्रति उत्साह व्यक्त गरे।

निर्देशक माइकल चन्दले भने, “५ वर्षदेखि यो कथामा काम गरिरहेको छु। दर्शकको अपेक्षा पूरा गर्न कुनै कसर बाँकी राखेका छैनौं।”

सम्बन्धित समाचार

सबै