‘तरङ्ग’को फर्स्टलुक पोस्टर सार्वजनिक

0 Shares

काठमाडौं : निर्देशक प्रदीपकुमार चौधरीको डेब्यू निर्देशनमा बनेको चलचित्र ‘तरङ्ग’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। निर्माण पक्ष देवदत क्रियशनले आइतबार पोस्टर सार्वजनिक गर्दै फिल्मको औपचारिक प्रचार अभियान सुरु गरेको हो।

सार्वजनिक पोस्टरमा प्रमुख कलाकार वरुण अधिकारी र रविना केसीलाई प्रस्तुत गरिएको छ, जहाँ उनीहरूको मौन प्रेमभाव झल्किने दृश्यले दर्शकको ध्यान खिचेको छ। उत्सव पाण्डेले डिजाइन गरेको पोस्टरले फिल्मको भावनात्मक र रहस्यमय टोनलाई उजागर गरेको छ।

फिल्ममा वरुण अधिकारी र रविना केसीसँगै बारात लिम्बु, कृष्ण थापा, सारा राई, उज्जल बान्तवा राई, उदय सुब्बा, कुन्दन थारू, उत्तम गुरुङ, जोहन सञ्जोग, विशाल सेनेहाङ र बाल कलाकार प्रन्शु चौधरीलगायत कलाकारहरूको अभिनय रहेको छ।

निर्देशक चौधरी स्वयंले फिल्मको कथा लेखेका हुन्। तर्कराज जोशी र जितेन्द्रकुमार चौधरी निर्माता रहेका फिल्ममा हरिनारायण चौधरी कार्यकारी निर्माता छन्।

छायांकन महेश पौडेलले गरेका हुन् भने सम्पादन सन्देश शाहको रहेको छ। द्वन्द्व निर्देशन सम्राट बस्नेतले गरेका छन्। संगीतमा मनोज थापा मगर, पवन गिरी र मनोज महतोको योगदान छ भने पार्श्व ध्वनि सुशील डंगोल र सुदीप श्रेष्ठले तयार पारेका छन्। निर्माण व्यवस्थापन प्रमुख रिजन परियार हुन्।

मोरङ, सुनसरी, पाल्पा, रुपन्देही, चितवन र कास्कीमा छायांकन गरिएको यस फिल्मको प्रदर्शन मिति अझै सार्वजनिक गरिएको छैन। निर्देशक चौधरीका अनुसार आगामी केही दिनमै आधिकारिक रिलिज मिति घोषणा गरिनेछ।

निर्देशकले ‘तरङ्ग’लाई सुपरनेचुरल लभस्टोरी (अलौकिक प्रेम कथा) को रूपमा वर्णन गरेका छन्, जसले समाजमा देखिने सामान्य प्रेमभन्दा फरक अनुभव प्रस्तुत गर्ने दाबी गरिएको छ।

सम्बन्धित समाचार

सबै