नेपथ्य क्यानडातर्फ प्रस्थान, टोरन्टोको शो ‘सोल्ड आउट’ — तीन सहरमा श्रृंखलाबद्ध कन्सर्ट

0 Shares

काठमाडौं : नेपाली लोक–रक ब्यान्ड नेपथ्य आगामी श्रृंखलाबद्ध अन्तर्राष्ट्रिय प्रस्तुतिका लागि क्यानडातर्फ प्रस्थान गरेको छ। अमृत गुरुङको नेतृत्वमा रहेको टोली शनिबार राति हङकङ हुँदै क्यानडातर्फ उडेको हो।

ब्यान्डले क्यानडाको सदबरी, टोरन्टो र लन्डन (ओन्टारियो) मा कन्सर्ट गर्ने तय भएको छ। पहिलो प्रस्तुति अप्रिल १० (शुक्रबार) सदबरी सहरस्थित सदबरी कम्युनिटी एरेनाबाट सुरु हुनेछ।

अप्रिल १३ (सोमबार) टोरन्टोको प्रतिष्ठित क्विन एलिजाबेथ थिएटर मा नेपथ्यले आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्नेछ। आयोजकका अनुसार यो शोका सबै टिकट अग्रिम बिक्री भइसकेका छन्।

अन्तिम प्रस्तुति अप्रिल १८ (शनिबार) लन्डन सहरको लन्डन म्युजिक हल मा हुनेछ। यी तीनै शोका लागि स्थानीय समयअनुसार बेलुकी ७ बजे ढोका खुल्नेछ।

कन्सर्टका लागि ६ जना कलाकार र ८ जना प्राविधिक तथा व्यवस्थापकसहित १४ सदस्यीय टोली क्यानडा गएको छ। टोली अप्रिल २० सम्म त्यही रहनेछ।

नेपथ्यका अगुवा तथा मुख्य गायक अमृत गुरुङले क्यानडामा बसोबास गर्ने नेपाली समुदायबाट प्राप्त उत्साहले आफूहरूलाई ठूलो हौसला मिलेको बताएका छन्। उनका अनुसार नयाँ वर्षको अवसरमा स्वदेशको सम्झना र मायासहित मञ्चमा प्रस्तुति दिने तयारी छ।

कन्सर्टमा अमृत गुरुङलाई ड्रममा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिनेछन्।

आयोजक दाजुभाइ इन्टरटेनमेन्टका छिरिङ शेर्पाका अनुसार टोरन्टो शो लगभग दुई हप्ता अघि नै सोल्ड आउट भइसकेको छ, जसले यसपटकको कन्सर्ट अत्यन्त भव्य हुने संकेत दिएको छ।

सम्बन्धित समाचार

सबै