‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को पाँचौँ संस्करण सर्लाहीमा हुने, ग्रामीण सिनेमा प्रवर्द्धनमा नयाँ विस्तार

0 Shares

काठमाडौं : ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (NERUFF) को पाँचौँ संस्करण आगामी वैशाख १५ देखि १७ गतेसम्म सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आयोजना हुने भएको छ। ग्रामीण कथामा आधारित नेपाली चलचित्रलाई प्रोत्साहन गर्ने उद्देश्यसहित सञ्चालन हुँदै आएको यो महोत्सव यसपटक तराई क्षेत्रमा विस्तार हुन लागेको हो।

महोत्सवको तयारीका लागि चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतो र आयोजक संस्था सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटाबीच विस्तृत छलफल भइसकेको छ।

“हिमाल, पहाड, तराई कोही छैन पराइ” भन्ने नारासहित सुरु गरिएको यो महोत्सव यसअघि पहाडी क्षेत्रहरूमा सफलतापूर्वक सम्पन्न भइसकेको थियो। अब तराई क्षेत्रलाई समेट्दै “सबैको सिनेमा, सबैका लागि” भन्ने अवधारणालाई अझ सशक्त बनाउने लक्ष्य आयोजकले लिएको छ।

ग्रामीण कथा, स्थानीय संस्कृति र समुदाय–केन्द्रित सिनेमा प्रवर्द्धन गर्ने उद्देश्यसहित सुरु गरिएको महोत्सवले गाउँ–गाउँमा चलचित्र पुर्‍याउने अभियानलाई निरन्तरता दिँदै आएको छ।

महोत्सवमा फिचर फिल्म, सर्ट फिल्म र विभिन्न भाषाभाषी चलचित्रसहित ५० भन्दा बढी आवेदन प्राप्त भएका छन्। तीमध्ये छनोट भएका चलचित्रहरू प्रदर्शन गरिनेछन् भने उत्कृष्टलाई विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ।

गाउँमै चलचित्र प्रदर्शन गर्ने उद्देश्यसहित कार्यक्रम अन्तर्गत ग्रामीण परिवेश झल्किने फिल्म, डकुमेन्ट्री तथा छोटा चलचित्रहरू स्थानीय दर्शकमाझ निःशुल्क देखाइनेछ। अफिसियल सेलेक्सन सूची आगामी हप्ताभित्र सार्वजनिक गरिने आयोजकले जनाएको छ।

आयोजक रघुनाथ सापकोटाका अनुसार महोत्सवको मुख्य उद्देश्य नेपाली मौलिक चलचित्रप्रतिको आकर्षण बढाउनु, चलचित्र हेर्ने संस्कार विकास गर्नु र ग्रामीण कथालाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउनु हो।

यसअघि महोत्सव गोरखाको लाप्राक, काभ्रेको भकुण्डेबेसी, रामेछाप र रसुवामा सफलतापूर्वक सम्पन्न भइसकेको छ। यसपटक मधेश प्रदेशमा आयोजना हुन लागेको संस्करणलाई अझ विशेष मानिएको छ।

महोत्सव चलचित्र विकास बोर्ड र चन्द्रनगर गाउँपालिकाको सहकार्यमा हुनेछ।

सम्बन्धित समाचार

सबै