‘बाः एक योद्धा’मा आमा झरनासँग एकसाथ देखिँदै सुहाना

0 Shares

नेपाली फिल्म क्षेत्रकी सफल अभिनेत्री तथा निर्देशक झरना थापा र उनकी छोरी सुहाना थापा पहिलो पटक एउटै फिल्ममा देखिने भएका छन्। संगीतकार हरि लम्साल को निर्देशनमा बन्न लागेको ‘बाः एक योद्धा’मा यी आमा–छोरीको मुख्य भूमिका रहने पक्का भएको हो।

पछिल्ला दुई सातादेखि छायांकन भइरहेको फिल्मको टिमले सुरुवातमा कलाकारको नाम गोप्य राखेको थियो। हाल काठमाडौंका विभिन्न स्थानमा धमाधम छायांकन भइरहेको छ, जहाँ झरना र सुहानाले सँगै दृश्य दिइरहेका छन्।

गत चैत ९ गते पशुपतिनाथ मन्दिर परिसरमा स्क्रिप्ट तथा क्यामेरा पूजा गर्दै फिल्मको छायांकन सुरु गरिएको थियो। ‘आर्टिस्टिक इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण भइरहेको यस फिल्मले नेपाली समाजको मार्मिक र यथार्थपरक कथा प्रस्तुत गर्ने लक्ष्य राखेको छ।

यो फिल्ममार्फत हरि लम्साल निर्देशकको रूपमा डेब्यु गर्दैछन्। उनले निर्देशनसँगै कथा र पटकथा पनि आफैं तयार पारेका छन्। संगीत क्षेत्रमा स्थापित लम्सालको निर्देशन क्षमता कस्तो देखिनेछ भन्नेमा दर्शकको चासो बढेको छ।

फिल्म ‘बाः एक योद्धा’ले नेपाली परिवारमा बुवाको भूमिका, त्याग र संघर्षलाई केन्द्रमा राख्नेछ। सन्तानको उज्ज्वल भविष्यका लागि एक बाबुले गर्ने संघर्षलाई ‘योद्धा’को रूपमा प्रस्तुत गरिनेछ, जसले ग्रामीणदेखि शहरी जीवनसम्मको भावनात्मक कथा समेट्नेछ।

निर्माण टिमका अनुसार यो शुद्ध सामाजिक र भावनात्मक मनोरञ्जनात्मक फिल्म हुनेछ।

फिल्मका निर्माता वसन्त लम्साल हुन्। उनले यसअघि अभिनेता विपिन कार्की अभिनीत ‘कर्मा’ निर्माण गरेका थिए।

फिल्ममा शिवराम श्रेष्ठ को सिनेमाटोग्राफी र तारा नाथ न्यौपाने को मुख्य सहायक निर्देशन रहनेछ।

छायांकन सम्पन्न भएपछि प्राविधिक काम सकेर मात्र प्रदर्शन मिति घोषणा गरिने निर्माण पक्षले जनाएको छ।

सम्बन्धित समाचार

सबै