‘लालीबजार’ तयार: वैशाख १८ रिलिजअघि अन्तर्राष्ट्रिय अधिकार बिक्री तयारी

0 Shares

आगामी वैशाख १८ मा प्रदर्शनमा आउने नेपाली फिल्म ‘लालीबजार’को सम्पूर्ण प्राविधिक काम सम्पन्न भएको छ। फिल्म तयार भएसँगै निर्माण कम्पनी षट्कोण आर्ट्स ले यसको अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने तयारी सुरु गरेको छ।

निर्माता म्याक्स दीपेश खत्री का अनुसार फिल्म तीन साताअघि नै तयार भइसकेको हो। तर प्राविधिक काम पूरा नभएसम्म अन्तर्राष्ट्रिय वितरकलाई झन्झट नहोस् भन्ने उद्देश्यले अधिकार बिक्री रोकिएको थियो। अब भने वैशाखको पहिलो साताभित्र वितरण सम्झौता टुंग्याउने तयारी गरिएको छ।

फिल्ममा समावेश गीत ‘मायालाई के दिउँ म बैना’ लोकप्रिय भएसँगै विदेश अधिकार खरिदका लागि विभिन्न प्रस्तावहरू आइरहेका छन्। उक्त गीत सार्वजनिक भएको एक महिनाभित्रै युट्युबमा एक करोडभन्दा बढी भ्युज पाइसकेको छ भने टिकटकमा हजारौं भिडियो बनिसकेका छन्।

निर्देशक यम थापा ले फिल्मले नयाँ कथा प्रस्तुत गर्ने दाबी गरेका छन्। उनका अनुसार ‘लालीबजार’ मनोरञ्जनसँगै सामाजिक सन्देश बोकेको विशेष फिल्म हुनेछ।

फिल्म बर्दियाको राजापुरमा छायांकन गरिएको हो। यसमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी र विरवल चौधरीलगायतको अभिनय रहेको छ।

यसै फिल्मबाट विशाल देवकोटा र प्रसंशा सुवेदीले अभिनयमा डेब्यु गर्दैछन्। विशाल थिएटर पृष्ठभूमिका कलाकार हुन् भने प्रसंशा जेनजी पुस्तामा चर्चित अनुहार हुन्।

फिल्मको पटकथा तथा संवाद निर्देशक यम थापा र प्रदीप भट्टराई ले संयुक्त रूपमा तयार पारेका हुन्। कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने निर्माता म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ हुन्।

फिल्ममा सुशन प्रजापती को छायांकन, सम्राट बस्नेत को द्वन्द्व निर्देशन, मित्रदेव गुरुङ को सम्पादन रहेको छ। संगीतमा प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवा छन्।

सम्बन्धित समाचार

सबै