‘लालीबजार’को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, आमा–छोरीको भावनात्मक कथा झल्कियो

0 Shares

षट्कोण आर्ट्सले निर्माण गरेको नेपाली फिल्म ‘लालीबजार’को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक गरिएको छ। गीतलाई लिरिकल भिडियोको रूपमा फिल्मका दृश्यहरू समेटेर प्रस्तुत गरिएको हो।

गीतमा समीक्षा अधिकारी, दिलिजा रुवाली, अलिशा शर्मा र पूर्णिमा तामाङको स्वर रहेको छ। कोरसमा गुराँस ठकुरी र गायत्री राना मगरको आवाज समावेश छ। गीतको शब्द र संगीत जयन जे वाइवा ले तयार गरेका हुन्।

यसअघि सार्वजनिक पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ युट्युबमा एक करोडभन्दा बढी पटक हेरिएपछि निर्माण पक्षले दोस्रो गीत सार्वजनिक गरेको हो। उक्त सफलताको अवसरमा निर्माण टिमले केक काटेर खुसी समेत साटेको थियो।

नयाँ गीतमा फिल्मकी मुख्य कलाकार स्वस्तिमा खड्का, प्रसंशा सुवेदी र बालकलाकार समाइरा थापा फिचर्ड छन्।

निर्देशक यम थापा का अनुसार गीत फिल्मको मूल कथासँग प्रत्यक्ष रूपमा जोडिएको छ। उनले गीतमा आमा–छोरीको सम्बन्ध, माया र हुर्काउने संघर्षलाई चित्रण गरिएको बताए।

फिल्म ‘लालीबजार’ आगामी वर्ष विसं २०८३ वैशाख १८ गते प्रदर्शनमा आउने तयारीमा छ। बर्दियाको राजापुरमा छायांकन गरिएको फिल्ममा विभिन्न कलाकारहरूको समूहगत अभिनय रहेको छ।

यस फिल्मबाट विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन्। निर्देशक यम थापाको कथा तथा निर्देशनमा बनेको फिल्मको पटकथा र संवाद उनले तथा प्रदीप भट्टराई ले संयुक्त रूपमा तयार गरेका हुन्।

फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई, निर्माता म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ रहेका छन्। संगीत, प्राविधिक पक्ष र पोस्ट–प्रोडक्सन टिमले फिल्मलाई अन्तिम रूप दिइरहेको निर्माण पक्षले जनाएको छ।

सम्बन्धित समाचार

सबै