रेखा थापाको निर्माणमा ‘सेतो धरती’ मञ्चन हुँदै, बेनिशा हमालले गर्नेछिन् डेब्यू

0 Shares

 कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुतिमा तयार हुँदै गरेको नाटक ‘सेतो धरती’ यही चैत २७ गतेदेखि मञ्चन हुने भएको छ। मदन पुरस्कार विजेता उपन्यासकार अमर न्यौपाने को प्रसिद्ध उपन्यासमा आधारित यस नाटकले नेपाली रंगमञ्चमा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ।

नाटकको निर्माणमा अभिनेत्री तथा निर्मात्री रेखा थापा संलग्न भएकी छन् भने मुख्य भूमिकामा अभिनेत्री बेनिशा हमाल ले पहिलो पटक रंगमञ्च डेब्यू गर्दैछिन्।

पोस्टर सार्वजनिक भएसँगै नाटकप्रति दर्शकको चासो झन् बढेको छ। यसमा लेखक अमर न्यौपाने, निर्माता रेखा थापा र निर्देशक सुन्दर धिताल को नाम उल्लेख गरिएको छ।

कान्तिपुर थिएटरका अनुसार हाल नाटकको रिहर्सल तीव्र गतिमा भइरहेको छ। नाटकमा फिल्म, थिएटर तथा एकेडेमीका गरी ३० भन्दा बढी कलाकारहरूको सामूहिक प्रस्तुति रहनेछ।

यसअघि सोही थिएटरले उपन्यास ‘मीरा’ र ‘शिरीषको फूल’लाई नाट्य रूपान्तरण गर्दै सफल मञ्चन गरिसकेको थियो।

कान्तिपुर फिल्म एकेडेमीका सीईओ प्रकाश पुरी का अनुसार संस्थाले साहित्य, सिनेमा र रंगमञ्चलाई जोड्ने उद्देश्यसहित चर्चित कृतिहरूलाई नाटकका रूपमा प्रस्तुत गर्दै आएको छ।

‘सेतो धरती’ चैत २७ देखि वैशाख १९ गतेसम्म मञ्चन हुनेछ। बुधबार बाहेक हरेक दिन साँझ ५:१५ बजे शो हुनेछ भने शनिबार, आइतबार र नयाँ वर्षको दिन दिउँसो १:१५ बजे विशेष शो पनि रहनेछ।

सम्बन्धित समाचार

सबै