भारतीय आधुनिक संगीतकी सबैभन्दा महान् गायिकामध्ये एक मानिएकी दिग्गज गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन भएको छ।
उहाँलाई शनिबार मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो, जहाँ हृदय र श्वासप्रश्वास सम्बन्धी समस्या देखिएको थियो। पछिल्ला केही महिनादेखि उहाँको स्वास्थ्य राम्रो थिएन र अत्यन्तै गम्भीर अवस्थामा अस्पताल लगिएको थियो। शनिबार राति उहाँलाई आइसियूमा राखिएको थियो।
गायिका आषा भोस्लेका छोरा आनन्द भोस्लेले आइतबार दिउँसो निधनको पुष्टि गरेका छन्। अन्त्येष्टि भोलि गरिने बताइएको छ।
आशा भोस्लेको शानदार संगीत यात्रा
भारतीय सिनेमा संगीतका सबैभन्दा सफल, लोकप्रिय र अत्यधिक गीत गाउने गायिकामध्ये एक रहेकीआशा भोस्लेको स्थान हिन्दी फिल्म संगीतमा केवल उनकी दिदी, दिवंगत लता मंगेशकरसँग तुलना गर्न सकिन्छ।
सन् १९३३ मा संगीत परिवार मंगेशकर परिवारमा जन्मिएकी आशाले ९ वर्षको उमेरदेखि नै व्यावसायिक रूपमा गीत गाउन सुरु गरेकी थिइन्। उनले १९४३ मा आफ्नो पहिलो फिल्म गीत रेकर्ड गरिन् र ५० को दशकसम्म आइपुग्दा बलिउडमा आफ्नो छुट्टै पहिचान बनाइसकेकी थिइन्।
त्यसपछि करिब तीन दशकसम्म उनी धेरै संगीतकारहरूको पहिलो रोजाइमा परिन्।
सुरुमा उनलाई क्याबरे र डान्स नम्बर (आजका “आइटम गीत” भनिने शैली) मा मात्र सीमित गरिए पनि पछि उनले विविध शैलीमा गीत गाएर आफूलाई स्थापित गरिन्। उनले ‘उमराव जान’ जस्ता फिल्ममा गजलसमेत उत्कृष्ट रूपमा प्रस्तुत गरिन्।
उनी सात पटक फिल्मफेयर सर्वश्रेष्ठ पार्श्व गायिका अवार्ड विजेता र दुई पटक राष्ट्रिय फिल्म पुरस्कार विजेता हुन् — ‘दिल चीज क्या है’ (उमराव जान) र ‘मेरा कुछ सामान’ (इजाजत) का लागि।
आधुनिक संगीतबारे उनको विचार
सन् २०२३ मा सार्वजनिक एक अन्तरवार्तामा उनले आधुनिक संगीतबारे आफ्नो धारणा व्यक्त गरेकी थिइन्।
उनले भनेकी थिइन्,
“म आजका गीत धेरै सुन्दिनँ। यदि सुन्नुपर्यो भने म भीमसेन जोशीजस्ता शास्त्रीय गायन र गजलहरू सुन्छु, जसले मलाई सिक्न र आफ्नो गायन सुधार्न मद्दत गर्छ।”
उनले थपेकी थिइन् कि आजका गीतहरूमा उत्कृष्ट शब्दहरू कम पाउँछिन्, तर कहिलेकाहीँ राहत फतेह अली खान र सुनिधि चौहानका केही गीतहरू राम्रो लाग्ने बताएकी थिइन्। तर उनी प्रायः पुराना गीतहरू नै सुन्न रुचाउँछिन्।
व्यक्तिगत जीवन
१६ वर्षको उमेरमा परिवारको इच्छाविपरीत उनले ३१ वर्षीय गणपत राव भोस्लेसँग भागेर विवाह गरेकी थिइन्। गणपत राव उनका व्यक्तिगत सचिव थिए। पछि परिवारमा भएको असहिष्णु व्यवहारका कारण उनीहरू अलग भएका थिए र सन् १९६० मा सम्बन्ध विच्छेद भयो।
त्यसपछि सन् १९८० मा उनले संगीतकार राहुल देव बर्मनसँग विवाह गरिन्, जो उनीभन्दा ६ वर्ष कान्छा थिए। यो विवाहलाई बर्मन परिवारले खासगरी आरडी बर्मनकी आमाले विरोध गरेकी थिइन्। राहुल देव बर्मन प्रसिद्ध संगीतकार सचिन देव बर्मनका छोरा थिए। उनको निधन १९९४ मा भएको थियो।
भोस्लेको नेपाल साइनो
नेपाली सिनेमा समेत प्रभावशाली र चर्चित गीतमा स्वर भरेकी उनी नेपाली भूमिमा भने ६ वर्ष अगाडि मात्र आएकी थिइन् ।
यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु, गैरीखेतको शिरै हान्यो, मोहनी लाग्ला है, झझल्को लिएर आएछ सावन, साउने झरीमा, नयाँ नयाँ सजाऔँ है संसार, के सोचेँ मैले के भयो अहिले, किन बढ्दै छ ढुकढुकी मुटुको, पहाडको माथिमाथि, तिम्रो मनमा लुकेको कुरा, टाढा भइ नजाऊ कहिल्यै उनले गाएका चर्चित गीत नेपाली सिनेगीतहरु हुन्।
वरिष्ठ संगीतकार रणजीत सिंह गजमेरका कारण भोस्लेका स्वरमा नेपाली गीतहरुलाई सजिन सहज भएको थियो। गजमेर भोस्लेका पति आर डि बर्मनको म्यूजिक सिटिङका महत्वपूर्ण सदस्य भएकाले पनि यो सम्भव भएको तियो। उनके कारणले गर्दा ६ वर्ष अगाडि उनी नेपाल आएकी थिइन्। गजमेरले आर डि बर्मनको समूहमा विशेष गरी नेपाली बाजा मादल बजाउने काम गर्दथे । भारतीय सिनेमा संगीतमा मादलको सबैभन्दा बढि प्रोग नै आर डी बर्मनले प्रयोग गरेका छन्। यसमा रणजीत गजमेरको महत्वपूर्ण भूमिका रह्यो ।
(एजेन्सीको सहयोगमा)