‘लालीबजार’ले मलाई लामो समयसम्म चिनाउनेछ : स्वस्तिमा खड्का

0 Shares

आगामी नेपाली फिल्म ‘लालीबजार’प्रति अभिनेत्री स्वस्तिमा खड्काले ठूलो अपेक्षा व्यक्त गरेकी छन्। उनले यो फिल्मले आफ्नो अभिनय यात्रामा दीर्घकालीन छाप छोड्ने विश्वास व्यक्त गरेकी छन्।

स्वस्तिमाका अनुसार, “मलाई लाग्छ ‘लालीबजार’ले मलाई आगामी धेरै वर्षसम्म कलाकारका रूपमा चिनाउनेछ। यो फिल्ममा काम गर्न पाउनु मेरो लागि निकै ‘लक्की’ महसुस हो।”

षट्कोण आट्स् को ब्यानरमा निर्माण भएको यो फिल्ममा उनी अडिसनमार्फत छनोट भएकी हुन्। अभिनय यात्राको दश वर्ष पूरा गरेपछि उनले ‘लुक टेस्ट’ दिएर यो परियोजनामा प्रवेश पाएको बताइन्।

फिल्मको कथा आमा र छोरीको सम्बन्धमा आधारित भए पनि स्वस्तिमाले यसमा बादी समुदायकी महिलाको भूमिका निर्वाह गरेकी छन्। आफ्नो पात्रलाई जीवन्त बनाउन उनी बर्दिया पुगेर गहिरो अनुसन्धानमा संलग्न भएकी थिइन्।

उनले भनिन्, “मैले धेरै उमेर हुनुभएका आमाहरूसँग भेटेर कुराकानी गरेँ। मैले देखेको संसारभन्दा निकै फरक परिवेशमा ‘मधुवाला’ पात्र भएर बाँच्ने अनुभव पाएँ।”

स्वस्तिमाले ‘लालीबजार’लाई आफ्नो करियरको स्मरणीय फिल्मका रूपमा लिँदै यसले दर्शकलाई फरक अनुभूति दिने विश्वास व्यक्त गरेकी छन्।

फिल्म वैशाख १८ गते रिलिज हुँदैछ ।

फिल्ममा स्वस्तिमाका अलावा रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी र विरवल चौधरीलगायतको अभिनय रहेको छ।

यसै फिल्मबाट विशाल देवकोटा र प्रसंशा सुवेदीले अभिनयमा डेब्यु गर्दैछन्। विशाल थिएटर पृष्ठभूमिका कलाकार हुन् भने प्रसंशा जेनजी पुस्तामा चर्चित अनुहार हुन्।

सम्बन्धित समाचार

सबै