बलिउड अभिनेता अक्षयकुमार अभिनित फिल्म ‘भूत बंगला’ले बक्स अफिसमा शानदार व्यापार गर्दै ९ दिनमै १०० करोड क्लबमा प्रवेश गरेको छ। निर्देशक प्रियदर्शन को निर्देशनमा बनेको यो हरर–कमेडी फिल्मले दर्शकमाझ बलियो पकड बनाएको छ।
फिल्मले रिलिजको पहिलो सातादेखि नै स्थिर कमाइ कायम राख्दै दोस्रो सातामा पनि उत्कृष्ट प्रदर्शन जारी राखेको छ। ९ दिनको अवधिमा फिल्मले १०० करोडभन्दा बढी ग्रस कलेक्सन गर्दै वर्षकै सफल फिल्ममध्ये एक बन्ने संकेत दिएको छ।
विशेषगरी परिवारसहित हेर्न मिल्ने मनोरञ्जनात्मक सामग्री र हरर–कमेडीको मिश्रणले दर्शकलाई हलसम्म तान्न सफल भएको विश्लेषण गरिएको छ। अक्षयकुमारको कमिक टाइमिङ र डर–हास्यको सन्तुलनले फिल्मलाई अझ आकर्षक बनाएको बताइएको छ।
निर्देशक प्रियदर्शनले आफ्नो पुरानै शैलीलाई निरन्तरता दिँदै हास्य र रहस्यलाई प्रभावकारी रूपमा प्रस्तुत गरेका छन्। समीक्षकहरूका अनुसार फिल्मको कथा, प्रस्तुति र कलाकारहरूको अभिनयले सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
ट्रेड विश्लेषकहरूका अनुसार आगामी दिनमा पनि फिल्मको कमाइ स्थिर रहने अनुमान गरिएको छ। यदि यही लय कायम रह्यो भने ‘भूत बंगला’ले थप ठूलो व्यापार गर्ने सम्भावना रहेको छ।