‘राम नाम सत्य’को शो सकिएपछि विराज अष्टनारायण हल पुग्दा दर्शकले के गरे?

0 Shares

नयाँ वर्षलाई लक्षित गर्दै प्रदर्शनमा आएको नेपाली फिल्म ‘राम नाम सत्य’ ले सुरुवाती दुई दिनमै सुखद ओपनिङ गरेको वितरक गोविन्द शाहीले जानकारी दिएका छन्। उनका अनुसार शुक्रबारको तुलनामा शनिबार फिल्मको व्यापार उल्लेखनीय रूपमा बढेको छ।

माइकल चन्दको निर्देशनमा बनेको यस एक्सन–ड्रामा फिल्मलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन्। विशेषगरी फिल्मको एक्सन, कथा र कलाकारहरूको अभिनयलाई दर्शकले मन पराएका छन्। कतिपय दर्शकले फिल्मको एक्सनलाई बलिउड स्तरसँग समेत तुलना गरेका छन्।

शनिबार अभिनेता विराज भट्ट काठमाडौँका विभिन्न हलहरूमा उपस्थित भएका थिए। काठमाडौँको अष्टनारायण हलमा मात्रै १,२०० भन्दा बढी दर्शकमाझ उनी घेरिएका थिए।

१००० सिट क्षमताको हल भरिएपछि ५०० सिट क्षमताको अर्को हलमा समेत शो सञ्चालन गरिएको थियो। विराज हलमा पुग्दा दर्शकले हुटिङ गर्दै उत्साहजनक स्वागत गरेका थिए।

निर्माता उपेन्द्र शाही र स्वेता बिमलीको निर्माणमा बनेको फिल्म हेरेर बाहिरिएका दर्शकको सकारात्मक प्रतिक्रियापछि अभिनेता विराज भट्ट उत्साहित देखिए।

उनले भने,
“सुरुवाती दुई दिनमा फिल्मको व्यापार कस्तो होला भन्ने लागेको थियो। तर दर्शकले मन पराउनुभएको छ र उत्साहजनक साथ दिनुभएको छ। यसले हामीलाई धेरै उत्साहित बनाएको छ।”

निर्माण टिमले अब नयाँ वर्षको दिनमा हलहरूमा अझै ठूलो दर्शकको भीड आउने अपेक्षा गरेको छ। काठमाडौं बाहिरका स्टेशनहरूमा पनि फिल्मको व्यापार राम्रो रहेको वितरक कुवेर फिल्म्सले जनाएको छ।

फिल्ममा विराज भट्टसँगै सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, सुनील थापा, प्रशान्त ताम्राकार, आयुष सिंह ठकुरी, खुशी कार्की लगायतका कलाकारहरूको अभिनय रहेको छ।

माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा बनेको फिल्मका कार्यकारी निर्माता किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार हुन् भने सह–निर्मातामा तेजराज चटौत र दमन बहादुर चन्द रहेका छन्।

क्रिएटिभ निर्माता मोती कार्की रहेका फिल्ममा राजेन्द्र आचार्य लाइन प्रोड्यूसर हुन्। काफिया फिल्म्स र कुवेर सिने डिस्ट्रीब्यूसनले फिल्मको वितरण गरेका छन्।

संगीततर्फ बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवाज अन्सारीको संगीत समावेश छ।

छायांकन मानकृष्ण महर्जन, एक्सन श्री श्रेष्ठ, सम्पादन बन्दे प्रसाद, ब्याकग्राउन्ड म्युजिक कालाचरण, कोरियोग्राफी सियोन श्रेष्ठ र छायांकन शेर बहादुर लामाले गरेका छन्।

सम्बन्धित समाचार

सबै