‘कुम्भ’को पहिलो गीत सार्वजनिक, जित्ला त दर्शकको मन ?

0 Shares

काठमाडौं — निर्देशक रन्धिर श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको नेपाली फिल्म ‘कुम्भ’ को पहिलो गीत सार्वजनिक गरिएको छ। आगामी जेठ १५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको यस फिल्मको रोमान्टिक गीत सार्वजनिक भएसँगै निर्माण टिमले प्रचार–प्रसारलाई तीव्र बनाएको छ।

काठमाडौंमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको गीतमा नवनायक अशोक आर्यन र नव नायिका सृष्टि खड्कालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ।

गीतमा अन्जु पन्त र अनुप तिवारीको स्वर रहेको छ। शब्द रचना निर्देशक रन्धिर श्रेष्ठकै रहेको छ भने संगीत पनि अनुप तिवारीले दिएका छन्।

कार्यक्रममा चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली विशेष अतिथिका रूपमा उपस्थित थिए। उनले गीतको छायांकन रमणीय लोकेसनमा गरिएको उल्लेख गर्दै निर्देशक श्रेष्ठ प्राविधिक रूपमा दक्ष भएकाले फिल्म उत्कृष्ट बनेको र दर्शकले मन पराउने विश्वास व्यक्त गरे।

निर्देशक रन्धिर श्रेष्ठले फिल्म प्राविधिक रूपमा बलियो बनेको र एक्सनमा नयाँ प्रयोग गरिएको बताए। उनले दक्षिण भारतीय फिल्म ‘कान्तारा’ मा काम गरेका द्वन्द्व कलाकारहरूको सहभागिता रहेको पनि जानकारी दिए।

नवनायक अशोक आर्यनले आफ्नो पहिलो फिल्म भए पनि पूर्ण मेहनतका साथ काम गरेको बताएका छन्।

लामो समयदेखि म्युजिक भिडियो निर्देशन तथा चलचित्र छायांकनमा सक्रिय रहेका श्रेष्ठले ‘कुम्भ’ मार्फत एक्सन–लभ स्टोरी प्रस्तुत गरेका छन्।

ए आर एस प्रोडक्सनको ब्यानरमा बनेको यो फिल्म नेपाली र हिन्दी दुवै भाषामा प्रदर्शन गरिने जनाइएको छ।

फिल्ममा दक्षिण भारतीय कलाकार सुरेन्द्र ठाकुरको समेत अभिनय रहेको छ। साथै, अशोक आर्यन, वरिष्ठ कलाकार सुनिल थापा, सुशील पोखरेल, रोहित रुम्बा, अफ्सना थापा र सृष्टि खड्का मुख्य भूमिकामा छन्।

फिल्मको छायांकन तथा सम्पादन स्वयं निर्देशक श्रेष्ठले गरेका हुन्। द्वन्द्व निर्देशन संजय थापाले गरेका छन् भने निर्माणमा रन्धिर श्रेष्ठ र राजेश साह संलग्न छन्।

कार्यकारी निर्माता ईश्वर बल्लभ उप्रेती हुन्।

गीत आरएए डिजिटल नेपालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

सम्बन्धित समाचार

सबै