काठमाडौं — आगामी वैशाख २५ गते (मे ८) देखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली फिल्म ‘मालती मंगले’ को आधिकारिक टिजर सार्वजनिक गरिएको छ। गायक रामकृष्ण ढकालको निर्माण तथा प्रस्तुति रहेको यस फिल्मको टिजरले ग्रामीण परिवेशमा आधारित एक भावनात्मक प्रेमकथाको झल्को दिएको छ।
ओएसआर डिजिटलमार्फत सार्वजनिक टिजरमा विजय बराल र वर्षा राउतको भेटदेखि विवाहसम्मको यात्रा देखाइएको छ। टिजरमा प्रेम, विश्वास र शङ्काबीचको संघर्षलाई मुख्य रूपमा प्रस्तुत गरिएको छ।
टिजरमा विजयले वर्षासँग गरेको भावनात्मक वाचा—“मेरो कारणले जुन दिन तिम्रो आँखामा आँसु आउँछ, त्यो दिन मंगले मरेसरह हुन्छ”—ले प्रेमको गहिराइ देखाउँछ।
तर विवाहपछि कथा मोडिँदै गएको संकेत टिजरको उत्तरार्धमा देखिन्छ। गाउँलेहरूको अगाडि विजयले वर्षालाई कुटपिट गर्दै “तैँले मलाई धोका दिइस्” भन्दै आक्रोश पोखेको दृश्यले कथामा ठूलो द्वन्द्व सिर्जना गर्छ।
यसैबीच, मेक्सम गौडेलले विजयलाई गाली गरेको दृश्यले पनि कथामा थप तनाव ल्याउने संकेत गर्छ। यद्यपि टिजरको अन्त्यमा केही रोमान्टिक क्षणहरू पनि देखाइएका छन्, जसले कथालाई पूर्ण रूपमा खुलाएको छैन।
निर्देशक प्रकु पाण्डेयको निर्देशनमा बनेको फिल्म रानी फिल्म्स को ब्यानरमा, युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण गरिएको हो।
निर्देशक पाण्डेयले फिल्मको कथा स्वयं लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका छन्।
निर्माता रामकृष्ण ढकालका अनुसार यो फिल्म राष्ट्रकवि माधवप्रसाद घिमिरेको गीतिनाटक नभई नेपाली समाजमै आधारित एक फरक संगीत–प्रेमकथा हो।
फिल्ममा विजय बराल, वर्षा राउत र मेक्सम गौडेल मुख्य भूमिकामा छन्। साथै नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराई लगायतको अभिनय रहेको छ।
कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने सह–निर्मातामा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ रहेका छन्।
फिल्मको छायांकन महेश पौडेल, सम्पादन रोमी मोजेज, रंग संयोजन कृष्ण भण्डारी र ध्वनि मिश्रण डिकेश खड्गीले गरेका छन्।
गीतमा हर्क साउदको शब्द, एसडी योगीको संगीत र रिकेश गुरुङको एरेन्ज रहेको छ। भिडियो कोरियोग्राफी रोशन बिकले गरेका हुन्।
फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ।