‘पाँच पाण्डव’मा हटाइएका सागर लम्साल ‘बले’को सट्टा सुशील सिटौला अनुबन्धित

0 Shares

नेपाली फिल्म ‘पाँच पाण्डव’मा अभिनेता सुशील सिटौला अनुबन्ध भएका छन्। हाल छायांकन भइरहेको फिल्ममा उनी पाँच मुख्य पात्रमध्ये एकको भूमिकामा देखिनेछन्।

फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठका अनुसार सिटौला पाँच पाण्डवमध्ये एकको रूपमा अनुबन्ध भएका हुन्। उनले आफूहरूले खोजेजस्तै सक्षम कलाकारलाई टिममा भित्र्याउन सफल भएको बताएका छन्। अब सिटौलाले हरिवंश आचार्यसहित अन्य कलाकारसँग स्क्रिन सेयर गर्नेछन्।

यसअघि फिल्ममा भर्सटायल अभिनेता प्रशान्त ताम्राकार र कन्टेन्ट क्रिएटर तथा मोडल इभा गिरी पनि अनुबन्ध भइसकेका छन्।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यो फिल्मलाई निर्देशक वसन्त निरौलाले निर्देशन गरिरहेका छन्। गत चैत २ गते नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टाबाट शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको फिल्ममा पुराना र नयाँ पुस्ताका चर्चित कलाकारहरूको संयोजन देख्न पाइनेछ।

फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला मुख्य ‘पाँच पाण्डव’को भूमिकामा देखिनेछन्। साथै दीपाश्री निरौला, सरिता गिरी, बिनोद न्यौपाने र रमा थपलियाको पनि महत्वपूर्ण भूमिका रहनेछ।

लेखक सुशील पौडेलका अनुसार ‘पाँच पाण्डव’ एक सामाजिक ड्रामा हो, जसले महाभारतका पाण्डव पात्रहरूको प्रतीकात्मक प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ।

प्रस्तुतकर्ता नवीन श्रेष्ठले यसअघि फिल्म ‘लाज शरणम्’ निर्माण गरेका थिए। फिल्मकी निर्माता काली रानी श्रेष्ठ हुन्।

फिल्मको अधिकांश छायांकन झापाका विभिन्न रमणीय स्थानहरूमा हुनेछ। झापा सेड्युल सकिएपछि अन्य स्थानमा छायांकन गर्ने योजना रहेको निर्देशक निरौलाले बताएका छन्।

फिल्मको कथा, पटकथा तथा संवाद सुशील पौडेलले तयार गरेका हुन् भने छायांकन श्याम तामाङले गरिरहेका छन्।

सम्बन्धित समाचार

सबै