‘ओम शान्ति ओम’मा कसका कारणले खेल्न पाएनन् राजपालले? शाहरुखलाई कसले सुनायो झुटो कुरा ?

0 Shares

बलिउड अभिनेता राजपाल यादव आफ्नो आगामी फिल्म ‘भूत बंगला’को रिलिज तयारीमा व्यस्त रहेका बेला एउटा पुरानो घटना सार्वजनिक गरेका छन्। उनले गलत बुझाइका कारण शाहरुख खान अभिनीत फिल्म ‘ओम शान्ति ओम’मा काम गर्ने अवसर गुमाएको खुलासा गरेका छन्।

राजपालका अनुसार उनी सुरुमा निर्देशक प्रियदर्शनको फिल्म ‘बिल्लु बार्बर’मा मुख्य भूमिकाका लागि सोचिएका थिए। तर पछि उक्त भूमिका इरफान खानले निभाएका थिए।

उनले ‘बिल्लु बार्बर’को छायांकनका क्रममा जुही चावलाका दाइसँगको भेटमा आफूले शाहरुख खानले मन दुखाएको भन्ने कुरा थाहा पाएको बताए। ‘कल हो ना हो’मा सँगै काम गरेपछि शाहरुखले भविष्यमा ठूलो भूमिका दिने वाचा गरेका थिए।

तर पछि आफूलाई जानकारी नदिई ‘ओम शान्ति ओम’ खेल्न अस्वीकार गरेको भन्ने गलत सन्देश शाहरुखसम्म पुगेको रहेछ। राजपालले भने, “कसैले मेरोबारे गलत कुरा राखिदिएको रहेछ, न त शाहरुखलाई थाहा थियो, न मलाई।”

उनले तुरुन्तै आफ्नो म्यानेजरसँग बुझ्दा त्यस्तो कुनै जानकारी नभएको पत्ता लागेको बताए। पछि सबै कुरा स्पष्ट भएपछि आफू र शाहरुखबीच कुनै विवाद नरहेको र भेट हुँदा अँगालो हालेर सम्बन्ध सामान्य भएको उनले बताए।

फराह खानको निर्देशनमा बनेको ‘ओम शान्ति ओम’ अभिनेत्री दीपिका पादुकोणको बलिउड डेब्यु फिल्म हो। फिल्ममा शाहरुख खानसँगै किरण खेर, अर्जुन रामपाल र श्रेयस तलपडे मुख्य भूमिकामा थिए।

३८ करोड बजेटमा बनेको यो फिल्मले विश्वभर करिब १४८ करोड कमाउँदै ठूलो सफलता हासिल गरेको थियो।

 

सम्बन्धित समाचार

सबै