‘कार्की साइँला’फस्ट लुक्स बाहिरियो,साउन १ गतेबाट प्रदर्शनमा आउने

0 Shares

पाली चलचित्र क्षेत्रमा नयाँ उत्साह थप्दै फिल्म ‘कार्की साइँला’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। मुख्य भूमिकामा जितु नेपाल अभिनीत यो फिल्म आगामी साउन १ गतेबाट प्रदर्शनमा आउने निर्माण टिमले घोषणा गरेको छ।

सार्वजनिक पोस्टरमा जितु नेपाललाई भरियाको भूमिकामा प्रस्तुत गरिएको छ, जहाँ उनी डोको बोकेर पहाड उक्लिरहेका देखिन्छन्। उनको डोकोमाथि पाँच जना भरियाहरू हिँडिरहेको दृश्यले फिल्मको कथा र संघर्षको झल्को दिन्छ। आकाशमा उडिरहेका चराहरूले दृश्यलाई अझ जीवन्त बनाएको छ।

पोस्टरको तल्लो भागमा एक मायालु जोडीको झल्को पनि देखिन्छ, जहाँ एक युवतीले पुरुषको काँधमा टाउको राखेकी छन्। यसले दर्शकमाझ पात्रहरूको सम्बन्धबारे कौतुहलता थपेको छ। समग्रमा, पोस्टरले फिल्मको कथा, भावना र परिवेशबारे संकेत दिन सफल देखिन्छ।

हास्य कलाकारको रूपमा चिनिएका जितुलाई यसपटक निर्देशक राजेन्द्र बस्नेत ले पूर्ण रूपमा फरक अवतारमा प्रस्तुत गरेका छन्। भरियाको जीवनकथामा आधारित यो फिल्मले उनको अभिनयको नयाँ आयाम देखाउने अपेक्षा गरिएको छ।

पूर्वी नेपालका धनकुटा, सुनसरीको बराहक्षेत्र र चतरा लगायतका स्थानमा छायांकन गरिएको यस फिल्ममा प्रियना आचार्य (मुन्नी), सुशील पोखरेल, बिरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई र कमल देवकोटा लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।

बालकुमार राई निर्माता रहेको फिल्ममा कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ता छन्। कर्णबहादुर फिल्म्स प्रालिको ब्यानरमा बनेको यस फिल्ममा द्वन्द निर्देशन किरण दाहालको, संगीत दिप्सन लिम्बुको तथा छायांकन डम्बर राईले गरेका छन्। फिल्मको वितरण कुबेर फिल्म्सले गर्ने भएको छ।

‘कार्की साइँला’ले यसपटक दर्शकलाई फरक कथा र प्रस्तुति दिने संकेत गरेको छ।

सम्बन्धित समाचार

सबै