पछिल्लो समय चर्चामा रहेको फिल्म महाराजधिराज मा मुख्य भूमिकाका लागि अभिनेता पुष्प खड्का अनुबन्धित भएका छन्। निर्माण टिमले नयाँ वर्षको अवसर पारेर उनलाई अनुबन्ध गरेको घोषणा गर्दै फिल्मको विशेष पोस्टर पनि सार्वजनिक गरेको छ।
लामो समयदेखि ‘महाराजधिराज’मा राजाको भूमिका कसले निर्वाह गर्ने भन्ने जिज्ञासाको अन्त्य गर्दै निर्माण पक्षले पुष्पलाई सार्वजनिक गरेको हो। सार्वजनिक पोस्टरमा उनी दुईवटा विपरीत र शक्तिशाली अवतारमा देखिएका छन्।
एक पोस्टरमा पुष्प पूर्ण राजकीय भेषमा देखिन्छन्—शिरमा श्रीपेच, हातमा राजदण्ड र शरीरमा राजर्षि पहिरनसहित। यसले उनको पात्र राजाको रूपमा रहेको संकेत गर्छ। तर अर्को तस्बिरमा उनी पूर्ण नग्न, अत्यन्त दुब्लो र कमजोर अवस्थामा देखिन्छन्। एक ‘भिन्जेट’ कुर्सीमा बसेको कमजोर पात्रको पछाडि राजकीय भेषमा उभिएको स्वरूपले फिल्मको कथा गहिरो र प्रतीकात्मक रहेको संकेत दिन्छ।
निर्माण पक्षले पोस्टरसँगै अर्थपूर्ण स्लोगन पनि सार्वजनिक गरेको छ—
“सत्कर्म सद्भावका कदमले हरपल साथ निभाओस्, वैमनस्यता बेइमानी संकट कुनै पल नजिक नआओस्।”
आज निर्माण पक्षले सार्वजनिक गरेको पोस्टर करिब पललाई अनुबन्धन गर्दा सार्वजनिक गरिएको पोस्टर जस्तै छ । पोस्टरमा पलको अनुहार मात्र प्रतिस्थापन गरेर पुष्पको अनुहार राखिएको छ भने जिउडाल भने दुरुस्तै छ ।
फिल्म अनुबन्ध गर्दा पुष्पले आफ्नै औंला काटेर रगतको औंठाछाप लगाएको खुलासा पनि गरिएको छ, जुन नेपाली फिल्म उद्योगमा दुर्लभ अभ्यास हो।
पुष्पले यो भूमिकालाई आफ्नो करिअरकै ठूलो अवसर र चुनौतीका रूपमा लिएका छन्। उनले फिल्मको निर्माण अवधिभर अन्य कुनै पनि फिल्म, म्युजिक भिडियो, साथै TikTok, इन्स्टाग्राम र युट्युबजस्ता प्लेटफर्ममा देखिने दृश्य सामग्रीमा संलग्न नहुने घोषणा गरेका छन्।
पोस्टरको कलर ग्रेडिङ, कम्पोजिसन र थिमले फिल्मलाई थ्रिलर वा पिरियड ड्रामाको झल्को दिएको छ, जसले दर्शकमा उच्च अपेक्षा जगाएको छ।
वैशाखको दोस्रो सातापछि छायांकन सुरु हुने तयारीमा रहेको फिल्मको स्टारकास्ट निकै बलियो देखिन्छ। फिल्ममा पुष्पसँगै नीर शाह, आर्यन सिक्देल, रमेश उप्रेती, वर्षा राउत, उषा रजक लगायत कलाकारहरूको अभिनय रहनेछ।
निर्देशक सेनको ‘ड्रिम प्रोजेक्ट’का रूपमा रहेको यस फिल्ममा करिब ८० कलाकारको सहभागिता रहने बताइएको छ। प्रस्तुतकर्ता विराज विष्ट का अनुसार नयाँ र अनुभवी कलाकारको सन्तुलन नै फिल्मको मुख्य बल हो।
छायांकन सुनसरीको श्रीलंका टापुबाट सुरु गरी काठमाडौं, भक्तपुर र कीर्तिपुरका ऐतिहासिक स्थानहरूमा गरिनेछ। फिल्मको छायांकन नबराज थापा ले सम्हाल्नेछन्।
छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यस फिल्मको लेखन निर्देशक सेन स्वयंले गरेका हुन्। उनले निर्देशन गरेको फिल्म प्रेमगञ्ज समीक्षात्मक रूपमा सफल मानिन्छ।
फिल्मका निर्माता रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट हुन्। निर्माण टिमका अनुसार ‘महाराजधिराज’ आगामी बडादशैंको फूलपातीमा देशव्यापी प्रदर्शन गरिने लक्ष्य राखिएको छ।
