‘पेन्सन पट्टा’ भदौ २६ मा रिलिज: तीज लक्षित प्रदर्शन, दयाहाङ राईसहित बलियो टिम

0 Shares

काठमाडौं — निर्देशक माओत्से गुरुङ को निर्देशनमा बनेको फिल्म पेन्सन पट्टा को प्रदर्शन मिति घोषणा गरिएको छ। नयाँ वर्षको अवसर पारेर टाइटल पोस्टर सार्वजनिक गर्दै फिल्म आगामी भदौ २६ गते, हरितालिका तीजको अवसरमा देशव्यापी प्रदर्शनमा आउने जानकारी दिइएको हो।

वैशाख १ गते अभिनेता दयाहाङ राई को जन्मदिन समेत पर्ने भएकाले सोही दिन प्रदर्शन मिति घोषणा गरिएको निर्देशक गुरुङले बताए। उनका अनुसार हालसम्म सो मितिमा अन्य ठूला फिल्म नआएकाले टिमले रणनीतिक रूपमा यही मिति रोजेको हो।

“वितरक र निर्माण टिमसँगको सल्लाहमा मिति तय गरेका हौं। राम्रो व्यापार हुनेमा विश्वस्त छौं,” निर्देशक गुरुङले भने।

गुरुङ फिल्मका ‘गडफादर’का रूपमा चिनिने गुरुङ स्वयंको लगानीमा बनेको यस फिल्ममा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, बुद्धि तामाङ, विल्सन विक्रम राई, लुनिभा तुलाधर लगायत कलाकारहरूको अभिनय रहेको छ।

यस्तै, विश्वास गुरुङ र माया गुरुङले यही फिल्ममार्फत नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेका छन्।

निर्देशक गुरुङकै कथा रहेको फिल्म नामअनुसार भूतपूर्व लाहुरेको कथा जस्तो देखिए पनि वास्तविक रूपमा एक लोभी युवक कसरी दानी बन्छ भन्ने रूपान्तरणको कथा रहेको बताइएको छ।

मीन कोन्मे गुरुङ (सिकलेस), भोज बहादुर गुरुङ (यूके) र सपना गुरुङको लगानी रहेको फिल्ममा डिबी गुरुङ प्रोडक्सन म्यानेजरका रूपमा रहेका छन्। छायांकन सुशन प्रजापति ले गर्नेछन् भने कास्टिङ निर्देशक सुरज तमु रहेका छन्।

फिल्मको संगीत मनोज थापा मगर, शिव बराइली र सुरुङ गुरुङले तयार पारिरहेका छन्। सम्पादन सुरेन्द्र पौडेल ले गरिरहेका छन् भने मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने हुन्।

यो फिल्मलाई आरआर फिल्म्समार्फत रोहित कट्टेल र रत्न श्रेष्ठले देशव्यापी रूपमा वितरण गर्नेछन्।

सम्बन्धित समाचार

सबै