अभिनेत्री केकी अधिकारी ले नयाँ वर्षको अवसर पारेर आफ्नो नयाँ फिल्म ‘स्टेशन’ निर्माणको औपचारिक घोषणा गरेकी छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको जानकारीअनुसार फिल्म भदौ १९ गते रिलिज हुने तय गरिएको छ।
केकीले समयसँगै कथा पनि रूपान्तरण हुने उल्लेख गर्दै फरक सोच र नयाँ कथासहित दर्शकमाझ आउने प्रतिबद्धता व्यक्त गरेकी छन्। “समय बदलिँदा कथा पनि बदलिन्छ, तर सपनाको रंग उस्तै रहन्छ,” भन्दै उनले नयाँ यात्राको सुरुआत ‘स्टेशन’बाट हुने संकेत दिएकी हुन्।
गत वर्ष सफल फिल्म बोक्सीको घर पछि उनी सोही टिमसँग फेरि सहकार्य गर्दैछिन्। फिल्मलाई सुलक्षण भारती ले निर्देशन गर्नेछन् भने कथा पनि निर्देशक स्वयंले तयार पारेका हुन्। निर्माणमा बद्री अधिकारी को सहभागिता रहनेछ।
केकी अधिकारी फिल्मसको ब्यानरमा बन्ने ‘स्टेशन’को थिम पोस्टर पनि सार्वजनिक भइसकेको छ। पोस्टरमा पुरानो काठको दराजभित्र केही सामग्री झल्किएको देखिए पनि स्पष्ट नदेखिएकाले फिल्म सामाजिक कथामा आधारित हुने संकेत गरेको छ।
फिल्मका कलाकार तथा प्राविधिक टिमबारे भने अहिले कुनै जानकारी सार्वजनिक गरिएको छैन। निर्माण पक्षका अनुसार यसबारे विस्तृत जानकारी चाँडै सार्वजनिक गरिनेछ।