ब्लकबस्टर ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेल अब निर्देशनमा, ‘दुई किनारा’लाई गर्नेछन् एक्सनकट

0 Shares

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेल अब निर्देशनमा डेब्यु गर्ने भएका छन्। नयाँ वर्षको अवसर पारेर उनले आफ्नो पहिलो निर्देशकीय फिल्म ‘दुई किनारा’को औपचारिक घोषणा गरेका हुन्।

सार्वजनिक गरिएको टाइटल पोस्टरले फिल्मको भावनात्मक गहिराइ संकेत गरेको छ। पोस्टरमा पहाडको दुई विपरीत स्वरूप—एकातिर हरियालीले ढाकिएको वनजंगल र अर्कोतिर उजाड, उराठ पहाड—प्रस्तुत गरिएको छ। यी दुईबीच नागबेली आकारको साँघुरो बाटो देखाइएको छ, जसले जीवनका दुई पाटा, सुख र दुःख, बीचको यात्रालाई प्रतीकात्मक रूपमा देखाउँछ।

निर्माण पक्षका अनुसार पोस्टरले साना–साना निर्णयहरूले जीवनमा पार्ने ठूलो प्रभावको कथा भन्ने संकेत गर्छ। फिल्म आगामी २०८४ साल वैशाख १ गते रिलिज गर्ने लक्ष्य राखिएको छ।

यसअघि पूर्ण बहादुरको सारङ्गी जस्तो व्यावसायिक रूपमा सफल फिल्म निर्माण गरेका पौडेलले ‘अभिमन्यु’ र ‘रोल नं १’ जस्ता परियोजनामा पनि काम गरिसकेका छन्। अब उनी निर्देशनमा नयाँ यात्रा सुरु गर्दै फरक कथासहित दर्शकमाझ आउन तयारीमा छन्।

फिल्मका कलाकार, कथा तथा प्राविधिक टिमबारे भने हालसम्म कुनै विवरण सार्वजनिक गरिएको छैन। निर्माण पक्षले चाँडै थप जानकारी सार्वजनिक गर्ने जनाएको छ।

सम्बन्धित समाचार

सबै