पाल्पाको कालीगण्डकी नदीमा पौडी खेल्न गएका दुई जना बगेर बेपत्ता भएका छन्।
कालीगण्डकी नदी मा पौडी खेल्ने क्रममा बगनासकाली गाउँपालिका–९ का ३९ वर्षीय शरण भुसाल र २९ वर्षीय तोयानाथ बस्याल मंगलबार साँझ बगेर बेपत्ता भएका हुन्।
जिल्ला प्रहरीका अनुसार उनीहरू चार जनाको समूह बनाएर नदीमा पौडी खेल्न गएका थिए। बेलुका करिब पौने ५ बजेतिर बगनासकाली–७ स्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा दुई जना अचानक बगेर बेपत्ता भएका हुन्।
घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी प्रवक्ता होमप्रकाश चौधरी ले दुई जना साथीहरूले उनीहरू करिब ८० मिटर टाढासम्म बग्दै गएको देखे पनि उद्धार गर्न नसकेको बताए।
नदीमा पसेका चार जनामध्ये दुई जना भने पौडिएर ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मंगलबार रातिदेखि नै बेपत्ता दुवै जनाको खोजी कार्य सुरु गरिएको थियो। बुधबार बिहानदेखि पुनः खोजी अभियान तीव्र बनाइएको छ।