सांसद स्वकीय सचिव सुविधा पुनःब्युँताउने तयारीको हर्क साम्पाङले गरे कडा विरोध

0 Shares

सांसदहरूलाई स्वकीय सचिवको सुविधा पुनः व्यवस्था गर्ने तयारीप्रति श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले कडा विरोध जनाएका छन्।

उनले सामाजिक सञ्जालमा लेख्दै सांसदहरूले स्वकीय सचिव राख्ने निर्णयको विरोध गर्दै सार्वजनिक खर्चप्रति प्रश्न उठाएका छन्।

उनका अनुसार मासिक ३० हजार रुपैयाँ तलबको आधारमा पनि ठूलो आर्थिक भार पर्ने भन्दै उनले लेखेका छन्, “३० हजारले नै मासिक तलब दिए पनि महिनाको ८२ लाख ५० हजार र वर्षको ९ करोड ९० हजार हुँदै ५ वर्षको ४९ करोड ५० हजार रुपैयाँ लाग्छ।”

उनले थप लेख्दै व्यंग्यात्मक रूपमा भनेका छन्, “नाथे स्वकीय सचिव रे!”

यसअघि संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले सांसद तथा पदाधिकारीहरूको स्वकीय सचिवको योग्यता निर्धारण गरी व्यवस्थित गर्ने प्रक्रिया अघि बढाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ।

सभामुखको अध्यक्षतामा बसेको बैठकले उक्त विषयमा आवश्यक कानुनी व्यवस्था गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई पत्राचार गर्ने निर्णयसमेत गरेको छ।

यसअघि तत्कालीन सरकारले अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने नीति अन्तर्गत सांसदहरूको स्वकीय सचिव सुविधा खारेज गरेको थियो।

तर पछिल्ला दिनमा उक्त सुविधा पुनः व्यवस्थित रूपमा ब्युँताउने प्रक्रिया अघि बढेपछि पुनः विवाद उत्पन्न भएको छ।

यसै सन्दर्भमा हर्क साम्पाङले सार्वजनिक रूपमा तीव्र असन्तुष्टि जनाएका हुन्।

सम्बन्धित समाचार

सबै