
‘ममी’ सिनेमाले आफ्नो प्रदर्शन मिति घोषणा गरेको छ ।
मंगलबार सिनेमाको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै सिनेमाले आगामी माघ २५ गतेलाई आफ्नो रिलिजमिति घोषणा गरेको छ ।
सिनेमामा प्रियंका कार्की तथा दीया मास्केको प्रमुख भूमिका रहेको छ।सिनेमाको सार्वजनिक पोस्टरमा एउटा ठुलो रुखको फेदमा घर अनि प्रियंका र दीयालाई सोही रुखको आकारमा देखाइएको छ ।
पोस्टरमा प्रियंकालाई गम्भिर भावमा देख्न सकिन्छ भने दीयालाई रगताम्य अनुहारसहित डरलाग्दो देखाइएको छ । हरर फ्यामिली ड्रामा जनरामा निर्मित सिनेमाले छोरी र कुकुरको दुखद् निधन पश्चात रहस्यमय कालो बिरालोलाई घरमा ल्याएसँगै सुरु हुने विपत्तिको परिस्थितिलाई पर्दामा प्रस्तुत गर्नेछ ।
एसओ ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको सिनेमामा प्रियंका र दीयाको साथमा सुलक्षण भारती, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, रिना ढकाल लगायतको अभिनय रहेको छ ।
डेब्यू निर्देशक समर निरौला सिनेमाका लेखक तथा निर्देशक हुन् ।
लोक राज जोशी र पूर्णिमा जोशी निर्माता रहेको सिनेमाको कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन् ।
सिनेमालाई काठमाडौंमा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्नेछ।