रिलिज नजिक पुगेको फिल्म ‘मालती मंगले’ ले आफ्नो प्रचार अभियानलाई औपचारिक रूपमा सुरु गरेको छ। नयाँ वर्षको अवसर पारेर भक्तपुरमा आयोजित विशेष सांगीतिक महोत्सवमार्फत फिल्म युनिटले प्रचार यात्रा अघि बढाएको हो, जहाँ हजारौँ दर्शकको सहभागिताले माहोल उत्साहपूर्ण बनेको थियो।
कार्यक्रमको मुख्य आकर्षणमा गायक तथा निर्माता रामकृष्ण ढकाल को सांगीतिक प्रस्तुति र कलाकार मेक्सम गौडेल को कमेडी शैली रह्यो। रामकृष्ण ढकाल र गायिका ऋतिका श्रेष्ठ ले फिल्मको लोकप्रिय गीत ‘ढुंगामाथि लेउ’ प्रस्तुत गर्दै दर्शकलाई झुमाएका थिए भने मेक्सम गौडेलले हास्य शैलीमा फिल्मको प्रचार गर्दै माहोल तताएका थिए।
कार्यक्रममा कार्यकारी निर्माता सागर ज्ञवाली सहित निर्माण टिमको उपस्थिति थियो। फिल्मको टिजर पनि सोही अवसरमा प्रदर्शन गरिएको थियो।
व्यस्तताका कारण प्रमुख कलाकार विजय बराल र वर्षा राउत भने कार्यक्रममा सहभागी हुन सकेनन्। तर निर्माण पक्षका अनुसार आगामी प्रचार अभियानहरूमा उनीहरूको सक्रिय सहभागिता रहनेछ।
फिल्मको निर्देशन प्रकु पाण्डेय ले गरेका हुन्। रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टसँगको सहकार्यमा बनेको यस फिल्मको कथा निर्देशक पाण्डेयकै हो भने पटकथा तथा संवाद संयोग गुरागाईँ ले लेखेका हुन्।
फिल्ममा ‘सुनैको सपनी’ र ‘ढुङ्गा माथि लेऊ’ गीत पहिले नै दर्शकमाझ लोकप्रिय भइसकेका छन्।
फिल्मको कलाकार सूचीमा विजय बराल, वर्षा राउत, मेक्सम गौडेलसहित नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराई लगायत रहेका छन्।
कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने सह–निर्मातामा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ छन्।
प्राविधिक पक्षमा महेश पौडेल (छायांकन), रोमी मोजेज (सम्पादन), कृष्ण भण्डारी (रंग संयोजन), सुजिल कर्माचार्य (ब्याकग्राउन्ड म्युजिक) र डिकेश खड्गी (ध्वनि मिश्रण) रहेका छन्। गीतमा हर्क साउदको शब्द, एसडी योगीको संगीत र रिकेश गुरुङको एरेन्ज रहेको छ भने भिडियो कोरियोग्राफी रोशन बिकले गरेका हुन्। फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ।