षट्कोण आर्ट्सको निर्माणमा बनेको फिल्म ‘लालीबजार’ आगामी वैशाख १८ गते प्रदर्शन हुने भएको छ। ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता सफल फिल्म निर्माण गरिसकेको टिमले यसपटक फरक सामाजिक विषयमा नयाँ फिल्म ल्याएको हो।
निर्माता म्याक्स दीपेश खत्री, अभिनेता रवीन्द्रसिंह बानियाँ र निर्देशक प्रदीप भट्टराई संलग्न षट्कोण आर्ट्सको यो फिल्ममा निर्देशनको जिम्मा भने यम थापा ले सम्हालेका छन्।
फिल्मको कथा पनि निर्देशक थापाकै हो। यसअघि ‘रज्जा रानी’, ‘हुर्रे’ र ‘मेरी मामु’ जस्ता विषयप्रधान फिल्म निर्देशन गरिसकेका थापाले ‘कोहिनूर’, ‘अञ्जिला’ र ‘परान’ जस्ता फिल्ममा पटकथाकारको रूपमा समेत काम गरिसकेका छन्।
निर्देशक थापाका अनुसार, तराईको विषयमा फिल्म बनाउने योजनाका क्रममा षट्कोण आर्ट्ससँग सहकार्य सुरु भएको थियो। “छलफलकै क्रममा राम्रो कथा पाए लगानी गर्ने कुरा भयो। मैले आमाको विषयमा रहेको कथा प्रस्तुत गरेँ, र त्यहीँबाट ‘लालीबजार’ को सुरुआत भयो,” उनले बताए।
सुरुमा आफूले निर्देशन गर्ने सोच नभए पनि अन्ततः निर्देशक प्रदीप भट्टराई कै प्रस्तावमा उनले निर्देशन सम्हालेका हुन्। पटकथा लगभग तयार भएपछि छायांकन स्थल भ्रमणका क्रममा भट्टराईले नै फिल्मको नाम ‘लालीबजार’ प्रस्ताव गरेका थिए।
फिल्म आमाछोरीको भावनात्मक कथामा आधारित रहेको निर्देशक थापाले बताएका छन्। “यो हाम्रो समाजको एउटा पाटोलाई देखाउने कथा हो, जसले दर्शकलाई सोच्न बाध्य बनाउँछ,” उनले भने।
फिल्मका गीत ‘मायालाई के दिउँ म बैना’ र ‘मिठो संसार’ दर्शकमाझ लोकप्रिय भइसकेका छन्। युट्युबसँगै टिकटक र रील्समा पनि गीतले राम्रो प्रतिक्रिया पाएको छ।
बर्दियाको राजापुरमा छायांकन गरिएको फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कडायत, निश्चल पन्थी, विरवल चौधरी लगायतका कलाकारको अभिनय रहेको छ।
यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदी ले डेब्यु गर्दैछन्।
फिल्मको पटकथा तथा संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन्।
प्राविधिक टिममा क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापती, सम्पादक मित्रदेव गुरुङ, ब्याकग्राउण्ड म्युजिक रोहित शाक्य र शैलेश श्रेष्ठ, कला निर्देशक उमेश चौधरी लगायत छन्।