फिल्म ‘एक मुठ्ठी बादल: My Share of Sky’ ले आफ्नो आधिकारिक पोस्टर सार्वजनिक गर्दै दर्शकमाझ गहिरो पारिवारिक कथाको संकेत दिएको छ। पोस्टरमार्फत फिल्मले सम्बन्ध, मौनता र अनकहा भावनाहरूको जटिलता प्रस्तुत गर्ने संकेत गर्छ।
पोस्टरमा आँचल शर्मा लाई केन्द्रमा राखिएको छ, जहाँ उनी वरिपरि परिवारका सदस्यहरूसँग बसेकी देखिन्छिन्। घरभित्रको सुसज्जित वातावरणले पाहुनाको प्रतीक्षामा रहेको क्षण झल्काए पनि दृश्यभित्र लुकेका भावनात्मक तनाव र मौन संवादले कथाको गहिराइलाई संकेत गर्छ।
अग्रभागमा वरिष्ठ कलाकार निशा शर्मा र शेखर चापागाईं देखिएका छन् भने पछाडितर्फ सहयोग अधिकारी, गौरव विष्ट र अस्मिता गौतम उभिएका छन्, जसले उनीहरू परिवारभन्दा बाहिरका पात्र हुनसक्ने संकेत गर्छ।
त्यस्तै भीमा मैनेली, उषा रजक, मनिष निरौला र अविरल प्रताप अधिकारी को उपस्थितिले एउटा नजिक देखिने तर भित्रैदेखि जटिल सम्बन्ध बोकेको परिवारको चित्रण गर्छ।
सार्वजनिक अर्को पोस्टरमा निशा शर्मा, आँचल शर्मा र उषा रजक बीचको सम्बन्धलाई केन्द्रमा राखिएको छ, जहाँ उनीहरूको दृष्टि आँचलतर्फ केन्द्रित देखिन्छ।
फिल्मको लेखन तथा निर्देशन सहारा शर्मा ले गरेका हुन् भने मुख्य निर्माता अभिमन्यु दीक्षित हुन्। सह-निर्मातामा सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल छन् भने कार्यकारी निर्माता निकुन श्रेष्ठ रहेका छन्।
प्राविधिक टिममा लिन्ह डान गुयेन फान (छायांकन), यशस्वी सभरवाल (प्रोडक्सन डिजाइन), गौरव कुमार मल्लिक (सम्पादन), दीपा भाटिया (सम्पादन सल्लाहकार), जानकी कडायत (भेषभूषा), कीर्ति जोशी (मेकअप), अग्रणी ठकुरी झा (कला निर्देशन) र आश्मा गौतम (पोस्ट-प्रोडक्सन सुपरभिजन) रहेका छन्।
गौथली इन्टरटेनमेन्ट, मन प्रोडक्सन, थर्ड कल्चर किड्स र क्रोमोजोम फिल्मको सह-निर्माणमा बनेको यो फिल्म नेपालभर जेठ १ (मे १५) बाट प्रदर्शनमा आउनेछ। वितरण आरआर फिल्म्स ले गर्नेछ।
