अभिनेता सौगात मल्ल फिल्म ‘परालको आगो’लाई लिएर निकै उत्साहित देखिएका छन्। उनका अनुसार यो फिल्ममा उनले फरक कथासँगै नयाँ अनुहारहरूसँग काम गर्ने अवसर पाएका छन्, जसले उनलाई थप ऊर्जा दिएको छ।
सौगातले गायक तथा अभिनेता प्रकाश सपुत सँगको सहकार्यलाई पनि सहज अनुभव भएको बताएका छन्। उनले प्रकाशसँग पहिले खासै भेट नभए पनि उनका गीतहरू पहिले देखिनै मन पर्ने उल्लेख गरे।
उनले भने, “प्रकाश सपुतसँग सायद हाम्रो भेट भएको थिएन… उहाँका गीतहरू मलाई पहिलेदेखि नै एकदमै मन पर्थे। पछि सँगै फिल्ममा काम गर्न पाइयो, सजिलो भयो।”
यसैगरी सौगातले अभिनेत्री सुहाना थापा सँगको काम पनि सहज भएको बताए। गाउँमा एक महिनाजति सुहाना सँगै बस्दा उनको अभिनय र कार्यशैलीले प्रभावित बनाएको उनले बताए।
सौगातका अनुसार सुहानामा उनले अभिनेत्री झरना थापा को झल्को पाएका छन्। उनले सुहानालाई मेहनती र पछिल्लो समयकी उत्कृष्ट कलाकारमध्ये एकको रूपमा मूल्यांकन गरेका छन्।
निर्देशक लक्ष्मण सुनार सँग ‘कल्ली’मा काम गरिसकेका कारण पनि यो फिल्म गर्न सहज भएको उनले बताए। गुरु प्रसाद मैनालीको अमर कथा ‘परालको आगो’मा आधारित फिल्म भएकाले काम गर्न पाउनु आफैंमा गौरवको विषय भएको उनले उल्लेख गरे।
फिल्मका निर्माता सुशील पोखरेल हुन् भने पटकथा तथा संवाद सुशील देवकोटा ले लेखेका छन्। हरि ॐ सिने मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्म बैशाख ११ गतेबाट प्रदर्शनमा आउनेछ।
फिल्ममा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँलगायतको अभिनय रहेको छ।