तुलसीपुरमा सरकारी छाप–दस्तखत दुरुपयोग गरी चोरीका मोटरसाइकल बेच्ने गिरोहका तीन जना पक्राउ
दाङ । सरकारी छाप र दस्तखत दुरुपयोग गरी चोरीका मोटरसाइकल बिक्री वितरण गरेको आरोपमा दाङको तुलसीपुरबाट तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरू सल्यानको बागचौर नगरपालिका–२ का २० वर्षीय दीपक भण्डारी, १९ वर्षीय सरोज घर्ती मगर र १९ वर्षीय राजन विष्ट रहेका छन्।
दाङ प्रहरीका प्रवक्ता डिएसपी रेशम बोहरा का अनुसार उनीहरूको साथबाट यातायात व्यवस्था सेवा कार्यालय वीरेन्द्रनगर सुर्खेतको डिजिटल छाप, विभिन्न सवारी दर्ता किताब तथा प्रयोगमा रहेको मोटरसाइकल बरामद गरिएको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुली का अनुसार तुलसीपुर उपमहानगरपालिका–५ माछापुच्छ्रे टोलमा सरकारी कागजातको किर्ते गरी चोरीका मोटरसाइकल बिक्री भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई वैशाख १ गते नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूविरुद्ध जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान अघि बढाइएको छ।