काठमाडौं — निर्देशकका रूपमा कुमार गजुरेल को डेव्यु फिल्म सारथी को शुभमुहूर्त सम्पन्न भएको छ। सोमबार काठमाडौंस्थित भद्रकाली मन्दिर मा पूजा गर्दै फिल्मको औपचारिक सुरुआत गरिएको हो।
शुभमुहूर्तपछि निर्माण टिम छायांकनका लागि गुर्जा खानी तर्फ प्रस्थान गरेको छ। निर्देशक गजुरेलका अनुसार वैशाख ९ गतेदेखि गुर्जा खानी आसपासका रमणीय स्थानमा करिब ४० दिनसम्म छायांकन हुनेछ।
यस फिल्ममार्फत वरिष्ठ सम्पादक तारा थापा ‘किम्भे’ निर्माता बनेका छन्। करिब तीन दशक लामो सम्पादन अनुभवलाई उपयोग गर्दै उत्कृष्ट कथा प्रस्तुत गर्ने उद्देश्यले निर्माणमा लागेको उनले बताएका छन्।
किम्भे प्रोडक्सन र धीरज इन्फिनिटी फिल्मस् को सहकार्यमा बन्न लागेको फिल्ममा उत्तम प्रधान र निरुता सिंह को जोडी करिब दुई दशकपछि पुनः एकसाथ देखिने भएको छ, जसले दर्शकमाझ उत्साह थप्ने अपेक्षा गरिएको छ। निरुता शुभमुहूर्त कार्यक्रममा उपस्थित थिइन् भने उत्तम वैशाख १५ गते नेपाल आएर छायांकनमा सहभागी हुने तयारीमा छन्।
शुभमुहूर्त कार्यक्रममा वरिष्ठ सिनेकर्मी लक्ष्मीनाथ शर्मा, प्रकाश सायमी र मन्जुनाथ श्रेष्ठ विशेष अतिथिका रूपमा उपस्थित थिए। साथै नेपाल छन्त्याल संघ का सल्लाहकार दीपबहादुर छन्त्यालको पनि सहभागिता थियो।
फिल्ममा उत्तम र निरुतासँगै मुकुन्द श्रेष्ठ, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई र आशा विश्वकर्मा लगायतका कलाकारको अभिनय रहनेछ। फिल्मका निर्माता सौर्यल थापा हुन् भने कार्यकारी निर्माता रदिप श्रेष्ठ र प्रदीप रायमाझी रहेका छन्। लाइन प्रोड्युसरमा अमीर केसी र निर्देशक गजुरेल स्वयं छन्।