काठमाडौं — बोक्सीको घर बाट बक्स अफिसमा ऐतिहासिक सफलता हात पारेकी अभिनेत्री तथा निर्मात्री केकी अधिकारी ले आफ्नो नयाँ फिल्म स्टेशन को निर्माण औपचारिक रूपमा सुरु गरेकी छिन्।
सोमबार अक्षय तृतीया को अवसर पारेर ललितपुरस्थित बंगलामुखी मन्दिर मा फिल्मको शुभमुहूर्त गरिएको हो। कार्यक्रममा निर्देशक, निर्माता तथा प्राविधिक टोलीको उपस्थिति रहेको थियो।
केकीले नयाँ वर्षकै अवसरमा फिल्म निर्माण घोषणा गरेकी थिइन्। सार्वजनिक गरिएको थिम पोस्टरले फिल्मप्रति दर्शकको चासो बढाएको छ। पोस्टरमा देखिएको पुरानो काठको दराज र रहस्यमय सामग्रीले फिल्म सामाजिक ड्रामा विधामा आधारित हुने संकेत गरेको छ।
बोक्सीको घर पछि केकीले सोही टिमसँगको सहकार्यलाई ‘स्टेशन’मा पनि निरन्तरता दिएकी छिन्। केकी अधिकारी फिल्मस को ब्यानरमा बन्ने फिल्मलाई सुलक्षण भारती ले निर्देशन गर्नेछन् भने कथा पनि उनकै रहेको छ। फिल्मका निर्माता बद्री अधिकारी हुन्।
फिल्मको कलाकार लाइनअप भने हालसम्म सार्वजनिक गरिएको छैन। निर्माण टिमले मुख्य कलाकारहरू गोप्य राख्दै दर्शकमाझ कौतुहलता कायम राख्ने रणनीति अपनाएको छ। साथै, केकी स्वयं फिल्ममा अभिनय गर्ने वा केवल निर्मात्रीकै रूपमा रहने भन्ने विषय पनि खुलाइएको छैन।
तेस्रो सातादेखि छायांकन सुरु गर्ने तयारी गरिएको फिल्म आगामी भदौ १९ गते देशभर प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ। सामाजिक र गम्भीर विषयवस्तुमा बनेको बोक्सीको घर को सफलतापछि ‘स्टेशन’लाई पनि निकै प्रतिक्षित फिल्मका रूपमा हेरिएको छ।