‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ घोषणा, ग्रान्ड जजमा टेरेन्स लुइस

0 Shares

काठमाडौं — विश्व चर्चित नृत्य प्रतियोगिता वर्ल्ड अफ डान्स को नेपाली संस्करण वर्ल्ड अफ डान्स नेपाल २०२६ औपचारिक रूपमा घोषणा गरिएको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत दोस्रो संस्करण सार्वजनिक गर्दै निर्णायक, पुरस्कार र अडिसन तालिका खुलाइएको हो।

सन् २००८ मा दक्षिणी क्यालिफोर्नियाबाट सुरु भएको यो प्लेटफर्म ५० भन्दा बढी देशमा विस्तार भइसकेको छ। नेपालमा यसको आयोजना गर्दै स्थानीय प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा बलिउडका चर्चित कोरियोग्राफर टेरेन्स लुइस लाई ‘सेलिब्रेटी ग्रान्ड जज’ घोषणा गरिएको छ। उनी डान्स इन्डिया डान्सइन्डियाज बेस्ट डान्सर जस्ता चर्चित शोका निर्णायक रहिसकेका छन्।

निर्णायक मण्डलमा वाइल्ड रिपर्ज क्रु का सदस्य किरण थापा र कलात्मक निर्देशक जेडी तमु पनि रहनेछन्।

कार्यक्रमका राष्ट्रिय निर्देशक रोशन गहतराज ले नेपाली डान्सरहरूलाई अन्तर्राष्ट्रिय स्तरको मञ्च दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। जेडी तमुका अनुसार नेपाली कला र संस्कृतिलाई केन्द्रमा राख्दै प्रतियोगिता सञ्चालन हुनेछ भने विदेशी डान्सरहरूले पनि सहभागिता जनाउन सक्नेछन्।

यस कार्यक्रमप्रति अमेरिकी दूतावास ले पनि सहकार्य जनाएको छ। जनसम्पर्क प्रमुख माइक हार्करले यसलाई सांस्कृतिक आदानप्रदान र नेपाली प्रतिभालाई विश्वमञ्चमा पुर्‍याउने अवसरको रूपमा व्याख्या गरे।

पत्रकार सम्मेलनमा दयाहाङ राई, बुद्धि तामाङ, कविता नेपाली, परीक्षा लिम्बु, प्रशान्त ताम्राकारसिसन बानियाँ लगायतको उपस्थिति रहेको थियो।

प्रतियोगिता चार डिभिजनमा विभाजन गरिएको छ—अपर, जुनियर, अपर टिम र जुनियर टिम। प्रत्येक विजेताले १ लाख रुपैयाँ नगद, २४ क्यारेट गोल्ड प्लेटेड ट्रफी र विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्। साथै विजेताले विश्व मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पनि पाउनेछन्।

देशभर पाँच सहरमा अडिसन आयोजना हुनेछ—नेपालगन्ज (वैशाख १९), बुटवल (वैशाख २२), पोखरा (वैशाख २६), काठमाडौं (वैशाख ३०) र इटहरी (जेठ २)। सेमिफाइनल जेठ २१ र ग्रान्ड फिनाले जेठ २३ गते हुने तय गरिएको छ।

सम्बन्धित समाचार

सबै