जिग्री–काकुको ‘चिरञ्जीवी भवः’बाट डेब्यू गर्दै प्रशंसा रायमाझी

0 Shares

सामाजिक सञ्जाल र मोडलिङ क्षेत्रमा लोकप्रिय इन्फ्लुएन्सर प्रशंसा रायमाझी ले फिल्म क्षेत्रमा डेब्यु गर्ने भएकी छन्। उनी चिरञ्जीवी भवः मार्फत अभिनेत्रीका रूपमा देखिन लागेकी हुन्।

फिल्म चर्चित हास्य कलाकारद्वय कुमार कट्टेल ‘जिग्री ब्रो’ र दीपकप्रसाद आचार्य ‘काकु’ को सहकार्यमा निर्माण हुँदैछ। नयाँ वर्ष २०८३ को अवसरमा फिल्मको औपचारिक घोषणा गरिएको हो।

टेलिभिजनमा भद्रगोलसक्किगो नि जस्ता लोकप्रिय सिरिजमार्फत दर्शकको मन जितेका जिग्री र काकुको यो सहकार्यलाई फिल्म क्षेत्रमा विशेष चासोका साथ हेरिएको छ।

फिल्मको निर्देशन दीपकप्रसाद आचार्यले गर्नेछन् भने कथा कुमार कट्टेलको रहेको छ। सामाजिक ड्रामा जनरामा बन्ने फिल्म दुई पुस्ताबीचको वैचारिक द्वन्द्व र सम्बन्धको कथामा आधारित रहने जनाइएको छ।

फिल्मको लेखनमा सविन अधिकारी र बसन्त न्यौपाने पनि संलग्न छन्। हाल स्क्रिप्टको अन्तिम चरणमा काम भइरहेको निर्माण पक्षले जनाएको छ।

यसअघि परान निर्देशन गरेका दीपकको उक्त फिल्म २०८२ सालको सर्वाधिक कमाउने फिल्म बनेको थियो। त्यस्तै, कुमारको निर्देशन तथा अभिनय रहेको लाज शरणम् ले पनि राम्रो व्यावसायिक सफलता हासिल गरेको थियो।

निर्माण टिमका अनुसार आगामी डेढदेखि दुई महिनाभित्र छायांकन सुरु गरिनेछ। करिब ८ वर्षदेखि सहकार्य गर्दै आएका जिग्री–काकुको यो ‘ड्रिम प्रोजेक्ट’ ले नेपाली फिल्ममा नयाँ स्वाद दिने अपेक्षा गरिएको छ।

साथै, लाखौँ फलोअर्स कमाएकी प्रशंसा रायमाझीको डेब्युले युवा दर्शकलाई विशेष रूपमा आकर्षित गर्ने विश्वास लिइएको छ।

सम्बन्धित समाचार

सबै