बहुप्रतिभाशाली कलाकार प्रकाश सपुत अब फिल्म अभिनयमा थप सशक्त रूपमा प्रस्तुत भएका छन्। गायनसँगै अभिनयमा पनि चर्चा बटुल्दै आएका उनी नयाँ फिल्म परालको आगो मार्फत भिन्न अवतारमा देखिने भएका छन्।
यसअघि परदेशी २, पूर्ण बहादुरको साराङ्गी र माइतीघर जस्ता फिल्ममार्फत दर्शकमाझ लोकप्रिय बनेका सपुतले यसपटक ‘चामे’ पात्रमार्फत नयाँ चुनौतीपूर्ण भूमिका निर्वाह गरेका छन्।
फिल्मको ट्रेलरमै उनको अभिनयलाई बलियो रूपमा प्रस्तुत गरिएको छ। श्रीमतीप्रतिको माया र रिसको द्वन्द्व देखिने एउटा दृश्यमा भैंसीसँग सम्बन्धित भावनात्मक सीनले दर्शकको ध्यान खिचेको छ। उक्त दृश्य खिच्ने क्रममा आफूलाई अभिनयमा सहज बनाउन सह-कलाकार सुहाना थापा ले सहयोग गरेको अनुभव उनले साझा गरेका छन्।
“भैंसी कुट्ने सीन थियो, तर गर्न गाह्रो भयो,” सपुतले सुटिङको अनुभव सुनाउँदै भने, “सिन पनि राम्रो देखियोस् र जनावरलाई पनि केही नहोस् भन्ने दबाब थियो।”
परालको आगो लाई गुरुप्रसाद मैनालीको चर्चित कथा संग्रह नासो मा आधारित कथाबाट रूपान्तरण गरिएको हो, जसलाई नेपाली साहित्यिक फिल्मका रूपमा महत्वपूर्ण मानिएको छ।
फिल्ममा सौगात मल्ल, सुहाना थापा, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँलगायत कलाकारको अभिनय रहेको छ।
लक्ष्मण सुनार निर्देशित फिल्म हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा सुशील पोखरेलको लगानीमा निर्माण भएको हो। पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन्।
छायांकन संकल्प भुजेल, कोरियोग्राफी रामजी लामिछाने, सम्पादन मिलन श्रेष्ठ, संगीतमा शान्ति ठटाल, सत्य–स्वरुप आचार्य र प्रकाश सपुतको योगदान रहेको छ।
फिल्म नेपालभर आरआर फिल्म्स मार्फत वितरण हुनेछ भने डिजिटल अधिकार ओएसआर डिजिटल ले लिएको छ।
निर्माण टिमले यो फिल्मलाई साहित्य, अभिनय र भावनाको संगमका रूपमा दर्शकले ग्रहण गर्ने विश्वास व्यक्त गरेको छ।