काठमाडौं — चर्चित टेलिभिजन कार्यक्रम कमेडी दरबार टिमले निर्माण गरेको नयाँ फिल्म ककाकिकी को रिलिज मिति घोषणा गरिएको छ। निर्माण पक्षले सार्वजनिक गरेको पोस्टरअनुसार फिल्म भदौ १९ गते देशभर प्रदर्शनमा आउनेछ।
पोस्टरमा फिल्मका प्रमुख कलाकारहरूको अनौठो र रहस्यमय लुक्स प्रस्तुत गरिएको छ। अभिनेत्री गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र अभिनेता महेश त्रिपाठी को क्यारेक्टर लुक्सले फिल्मप्रति थप कौतुहलता बढाएको छ।
पोस्टर सार्वजनिक भएलगत्तै फिल्मको कथा रहस्यमय र सस्पेन्सपूर्ण हुने अनुमान दर्शकले गरेका छन्। निर्माण टिमले यसअघि नै क्यारेक्टर पोस्टर सार्वजनिक गरेपछि फिल्मप्रतिको चासो उच्च हुँदै गएको थियो।
ककाकिकी लाई बिक्की अगरवाल र श्रद्धा प्रसाईँ ले संयुक्त रूपमा निर्देशन गरेका हुन् भने अनीश बुढाथोकी सहायक निर्देशक रहेका छन्।
फिल्ममा दिया मास्के, शिशिर वाङ्देल, प्रकाश घिमिरे, माओत्से गुरुङ, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु), सुवर्ण थापा, सुभाष गजुरेल, मनोज गजुरेल र एलिसा भोग लगायत कलाकारको अभिनय रहेको छ।
फिल्मको कन्सेप्ट सुमन अगरवाल को रहेको छ भने लेखन बिक्की अगरवाल, विकास अर्याल, सरोज भण्डारी र विश्वास तिमल्सिनाले संयुक्त रूपमा गरेका हुन्।
छायांकन सुदिप बराल टिमले गरेको हो। टाइटल आर्ट्स ट्राइडेन्ट कन्सेप्ट ले तयार गरेको हो भने पोस्टर डिजाइन कार्यालय टिमले गरेको हो।
निर्माण पक्षले रहस्यमय कथावस्तु र बलियो कलाकार संयोजनले फिल्म दर्शकमाझ फरक अनुभव दिने विश्वास व्यक्त गरेको छ।