
‘अञ्जिला’ सिनेमाकी प्रमुख अभिनेत्री तथा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एवं गोलरक्षक एञ्जिला तुम्बापो सुब्बालाई सिनेमा निर्माण पक्षले ग्रिसका लागि बिदाइ गरेको छ ।
एञ्जिला ग्रिसको ए डिभिजन क्लब नीस एट्रोमिटोउमा खेल्न त्यता जाँदैछिन् ।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनलाई २०२४/२५ सिजनका लागि अनुबन्ध गरिएको जानकारी दिइयो । यसका साथै उनलाई विशेष सम्मानसहित बिदाइसमेत गरियो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य सुहाङ नेम्बाङ, नेपालकी पहिलो महिला फुटबल टिमकी कप्तान रमा सिंह, राष्ट्रिय पुरुष फुटबल टिमका कप्तान किरण चेम्जोङ, र फुटबल खेलाडी सङ्घका अध्यक्ष विक्रम लामालगायत नेपाली खेलकुद क्षेत्रका विशिष्ट व्यक्तिहरू उपस्थित थिए ।
त्यसैगरी सो पत्रकार सम्मेलनमा सिनेमाको मङ्सिर २३, २०८१ (डिसेम्बर ८) मा हङकङमा वर्ल्ड प्रिमियर गरिने जानकारी दिइयो ।
प्रिमियरमा निर्देशक मिलन चाम्स र एञ्जिला सुब्बा सहभागी हुनेछन् ।
हङकङमा एक हप्तामै टिकट सोल्ड आउट भएको जानकारी दिदैं निर्देशक चाम्सले दर्शकहरूको चासो र उत्साहप्रति आभार व्यक्त गरे ।
‘हङकङमा टिकट बिक्री एक हप्तामै सोल्ड आउट हुनु, यो सिनेमाप्रतिको उत्साहलाई देखाउँछ । ‘अञ्जिला’ले नेपाली सिनेमा र खेलकुदलाई नयाँ उचाइमा पुर्याउने विश्वास छ,’ चाम्सले भने ।
हङकङ पछि जनवरी १८, २०२५ मा अस्ट्रेलियामा, जनवरीको अन्त्यतिर जापानमा, फेब्रुअरी १५ मा युके र मार्च २ मा कोरियामा समेत प्रिमियर गर्ने तालिका रहेको छ।
सिनेमा फागुन २९ गतेदेखि नेपालसँगै विश्वभर सिनेमा एकसाथ सार्वजनिक प्रदर्शनमा आउने जानकारी सो कार्यक्रम दिइएको छ ।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य सुहाङ नेम्बाङले एञ्जिलाको सङ्घर्ष र सफलता नेपाली खेलकुद र सिनेमाको लागि प्रेरणादायी भएको बताए ।
‘यो सिनेमाले नेपाली महिला खेलकुदको महत्त्व र सम्भावनालाई विश्वसामु पुर्याउनेछ । निर्देशक मिलन चाम्स नेपाली सिनेमाको ‘मेस्सी’ हुनुहुन्छ । प्रतिभाशाली युवाहरूलाई थप उचाइमा पुर्याउन यो सिनेमाले ठूलो भूमिका खेल्नेछ’, उनले भने ।
त्यसैगरी नेपाली महिला फुटबल टिमकी प्रथम कप्तान रमा सिंहले सिनेमालाई ऐतिहासिक प्रयासको रूपमा विश्लेषण गरिन् ।
‘सम्भवतः यो सिनेमा नेपाली महिला खेलाडीको जीवनमा आधारित पहिलो बायोपिक हो । एञ्जिलाको सङ्घर्ष र सफलताको कथा खेलकुद पर्यटनको विकासका लागि पनि प्रेरणा बन्नेछ’, सिंहले भनिन् ।
यस्तै राष्ट्रिय पुरुष फुटबल टिमका कप्तान किरण चेम्जोङले सिनेमालाई नेपाली फुटबलको ऐतिहासिक उपलब्धि भएको उल्लेख गरे ।
उनले भने, ‘नेपाली फुटबलको पहिलो बायोपिक बनेको सुन्दा गर्व लागेको छ । आशा छ, यो सिनेमाले थप प्रेरणादायी प्रभाव छोड्नेछ।’
यस्तै ‘अञ्जिला’की मुख्य अभिनेत्री एञ्जिलाले पहिलो पटक युरोपमा खेल्ने अवसर पाएकोमा अत्यन्तै खुसी रहेको बताइन् ।
‘अञ्जिला’ सिनेमा कप्तान एञ्जिला सुब्बाको जीवन सङ्घर्ष र सफलतामा आधारित छ ।
उनले शीर्षक भूमिकामा आफैं अभिनय गरेकी छन् । उनका अलावा सिनेमामा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, मञ्जु श्रेष्ठ र बुद्धि तामाङको अभिनय रहेको छ ।
सिनेमाका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् भने सह-निर्माताहरूमा टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया छन् । सुदीप बरालको छायाँकन रहेको सिनेमामा सम्पादन मिलन श्रेष्ठको रहेको छ ।
कार्यक्रममा निर्देशक चाम्सले ‘अञ्जिला’मा एञ्जिलाको जीवन कथा रहेता पनि पूर्ण बायोपिक भने नभएको बताए ।
यसैगरी निर्माता श्रेष्ठले यस सिनेमाको व्यापारबाट प्राप्त रकमबाट एञ्जिलाको लागि काठमाडौंमा घर तयार गरिने बताए ।
सो घरलाई फुटबल एकेडेमीको रूपमा परिणत गरी सङ्घर्षमा रहेका फुटबल खेल्न चाहनेलाई युवतीहरूलाई सहयोग गर्ने योजना एञ्जिलाको रहेको छ ।