निर्धारित समयभन्दा २ दिन बढी ३० घण्टासम्म लगातार काम गर्दै सकियो‘जिरो डिग्री’को छायांकन, दसैँअघि नै रिलिज

0 Shares

डार्क कमेडी फिल्म ‘जिरो डिग्री’को छायांकन सम्पन्न भएको छ। मेघौली फिल्म्सको ब्यानरमा निर्माण भइरहेको यस फिल्मको अन्तिम दृश्य कास्कीको धिताल गाउँमा खिच्दै सोमबार ‘प्याकअप’ गरिएको हो।

निर्माण टोलीले ३५ दिनको तालिका बनाएर पोखराको अर्मलाकोट मन्दिरबाट सुटिङ सुरु गरेको थियो। तर, मौसमको चुनौतीका कारण निर्धारित समयभन्दा दुई दिन बढी लगाएर ३७ दिनमा छायांकन सकिएको हो। फिल्मको सम्पूर्ण छायांकन पोखरा आसपासका अर्मलाकोट, धिताल, घार्मी र बगर क्षेत्रका मौलिक बस्तीहरूमा गरिएको छ।

छायांकन अवधिभर निरन्तर वर्षाले अवरोध पुर्‍याए पनि टोलीले काम रोकेन। अन्तिम चरणमा त लगातार ३० घण्टासम्म सुटिङ गरिएको निर्देशक आकास बरालले बताए। कठिन परिस्थितिका बाबजुद सेटको वातावरण भने निकै ऊर्जावान र रमाइलो रहेको उनको भनाइ छ। “हामीले सेटमा पाएको हाँसो दर्शकसम्म पुर्‍याउन सके नै हाम्रो सफलता हुनेछ,” उनले भने।

सजन काफ्ले र आकास बरालको संयुक्त निर्देशन तथा लेखन रहेको यस फिल्ममा अभिनेता विजय बराल फरक अवतारमा देखिने निर्देशकले बताएका छन्। यद्यपि, उनको भूमिकाबारे भने गोप्य राखिएको छ।

फिल्मको कथा विकट गाउँमा आमाबुवाको मृत्यु भएपछि विदेशमा रहेका सन्तान नआउँदासम्म शव सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर गाउँ पुर्‍याउने क्रममा उत्पन्न हुने घटनाहरू वरिपरि घुमेको छ। यसअघि नै यसको व्यङ्ग्यात्मक गीत ‘अरे हो नेता जी’ सार्वजनिक भइसकेको छ।

फिल्ममा विजय बरालसँगै प्रकाश घिमिरे, राजन भुसाल, सनिशा भट्टराई, वसुन्धरा भुसाल, रमेश बुढाथोकीलगायत कलाकारहरूको अभिनय रहेको छ। मोती कार्की कार्यकारी निर्माता रहेको फिल्मलाई निशाल पौडेलले छायांकन गरेका हुन्।

फिल्मको सम्पादन चानस पुन मगर, रङ्ग संयोजन राजेन्द्र मोक्तान, सङ्गीत अङ्कित बाबु अधिकारी र शब्द युवराज काफ्लेको रहेको छ। वितरणतर्फ काठमाडौं बाहिर कुबेर सिने डिस्ट्रिब्युसन र उपत्यकामा डिसिएनले जिम्मा लिएका छन्। फिल्म यस वर्षको वडा दसैँअघि रिलिज गर्ने तयारी गरिएको छ।

सम्बन्धित समाचार

सबै