चलचित्र ‘बाः एक योद्धा’ ले निर्माणको सुरुवातदेखि छायांकनको अन्तिम चरणसम्म कलाकारहरू गोप्य राखेर दर्शकमा ठूलो कौतुहलता सिर्जना गरेको थियो। अब भने निर्माण पक्षले बिस्तारै कलाकार सार्वजनिक गर्न थालेको छ।
यसै क्रममा अभिनेता दिव्यदेव पन्तलाई चलचित्रको मुख्य भूमिकामा अनुबन्ध गरिएको निर्माण टिमले जानकारी दिएको छ। तर उनको पात्रबारे भने अझै गोप्य राखिएको छ। चलचित्रको छायांकन गत चैत्र ९ गतेदेखि सुरु भएको हो र सुरुवाती चरणमै कलाकारबारे कुनै औपचारिक जानकारी नदिई रहस्य कायम राखिएको थियो।
यसअघि सेटबाट सार्वजनिक भएका तस्वीरहरूमार्फत अभिनेत्री झरना थापा र सुहाना थापाको सहभागिता खुलिसकेको थियो। वास्तविक जीवनमा आमा–छोरी रहेका उनीहरूले यो चलचित्रमा पनि आमा–छोरीकै भूमिकामा अभिनय गर्ने भएका छन्। यो उनीहरूको पहिलो साझा स्क्रिन प्रस्तुति हो।
चलचित्रको निर्देशन चर्चित संगीतकार हरि लम्सालले गरेका छन्, जसले यसै चलचित्रमार्फत निर्देशनमा डेब्यु गरेका हुन्। लामो समय संगीत क्षेत्रमा सक्रिय रहेका लम्सालले फिल्मको कथा र पटकथा पनि आफैं लेखेका छन्। उनी सामाजिक र भावनात्मक विषयवस्तुमा केन्द्रित भएर यो फिल्ममार्फत निर्देशन यात्रामा प्रवेश गरेका हुन्।
निर्माण पक्षका अनुसार ‘बाः एक योद्धा’ एक बाबुको संघर्ष र त्यागको कथा हो। सन्तानको उज्ज्वल भविष्यका लागि बाबुले गर्ने निरन्तर मेहनत, जीवनका चुनौती र भावनात्मक संघर्षलाई फिल्मको मुख्य कथावस्तु बनाइएको छ।
‘आर्टिस्टिक इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण भइरहेको चलचित्रका निर्माता वसन्त लम्साल हुन्। उनी यसअघि विपिन कार्की अभिनीत चलचित्र ‘कर्मा’ का निर्माता पनि हुन्। चलचित्रको छायांकन शिवराम श्रेष्ठले गरिरहेका छन् भने मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने रहेका छन्।
हाल काठमाडौंका विभिन्न स्थानमा चलचित्रको अन्तिम चरणको छायांकन भइरहेको छ। छायांकन सकिएपछि मात्र पोस्ट–प्रोडक्सनको काम अघि बढाइने र त्यसपछि प्रदर्शन मिति घोषणा गरिने निर्माण पक्षले जनाएको छ।