चैत्र २७ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘राम नाम सत्य’ले सोमबारसम्म बक्स अफिसमा ३ करोड २० लाख रुपैयाँ ग्रस कलेक्शन गरेको छ। फिल्मको व्यापारलाई लिएर निर्माण पक्ष उत्साहित देखिएको छ।
वितरक गोविन्द शाहीका अनुसार विकास बोर्डको तथ्यांकमा शनिबारसम्म फिल्मको कलेक्शन करिब २ करोड ८० लाख रुपैयाँ देखिएको थियो। तर केही हलहरूको कलेक्शन बोर्डमा नजोडिने भएकाले वास्तविक व्यापार केही बढी रहेको उनको भनाइ छ।
निर्माता उपेन्द्र शाहीका अनुसार फिल्मले अमेरिकाबाहेकका अन्तर्राष्ट्रिय बजारबाट करिब ७० लाख रुपैयाँ आम्दानी गरिसकेको छ। अमेरिकामा भने अप्रिल २४ देखि २०० शो सहित प्रदर्शन सुरु हुने तयारी छ। फिल्मलाई त्यहाँ शेयर प्रतिशतमा बिक्री गरिएको भएकाले थप आम्दानी हुने अपेक्षा गरिएको छ।
निर्देशक माइकल चन्दका अनुसार फिल्मको डिजिटल राइट्स ओएसआर डिजिटललाई ७२ लाख रुपैयाँमा बिक्री गरिएको छ। डिजिटल राइट्सबाट प्राप्त आम्दानीले निर्माण पक्षलाई राम्रो राहत दिएको उनले बताए।
करीब ३ करोड रुपैयाँको बजेटमा बनेको फिल्म अब सुरक्षित हुने बाटोमा पुगेको निर्देशक चन्दको भनाइ छ।
श्वेता विमली र उपेन्द्र शाहीको निर्माणमा बनेको फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुष सिंह ठकुरी, खुशी कार्की, सुनील थापा र प्रशान्त ताम्राकारलगायत कलाकारहरूको अभिनय रहेको छ।
पछिल्ला केही नेपाली फिल्महरूको तुलनामा अपेक्षाकृत राम्रो व्यापार गरिरहेको यस फिल्मले बक्स अफिसमा सकारात्मक संकेत दिएको निर्माण पक्षले जनाएको छ।