ग्लोबल बक्स अफिसमा ‘धुरन्धर २’को इतिहास : चीन–मिडल इस्ट बिना नै ५० मिलियन क्लबमा प्रवेश, ‘जवान’ र ‘पठान’लाई पनि पछि पार्यो

0 Shares

आदित्य धर निर्देशित स्पाई थ्रिलर ‘धुरन्धर २: द रिभेन्ज’ ले बक्स अफिसमा अर्को ऐतिहासिक सफलता हासिल गरेको छ। फिल्मले विश्वव्यापी रूपमा ५० मिलियन डलरको आँकडा पार गर्दै यो उपलब्धि हासिल गर्ने केवल सातौं भारतीय फिल्म बनेको छ।

रोचक कुरा के छ भने, यो उपलब्धि फिल्मले चीन वा मिडल इस्ट (गल्फ देशहरू) मा रिलिज नपाउँदै हासिल गरेको हो, जुन भारतीय फिल्मका लागि सबैभन्दा ठूलो विदेशी बजारमध्ये पर्छ।

रणवीर सिंह अभिनीत यस फिल्मले हालसम्म विश्वभर करिब १७६० करोड रुपैयाँभन्दा बढी कमाइ गरिसकेको छ। व्यापार विश्लेषकहरूका अनुसार यसमध्ये करिब ४५० करोड रुपैयाँ विदेशी बजारबाट मात्र आएको हो।

२२ अप्रिलसम्मको तथ्यांक अनुसार फिल्मले विदेशी बजारमा ५०.५ मिलियन डलर कमाइ गरेको छ, जसले यसलाई सबै भारतीय फिल्ममध्ये सातौं स्थानमा पुर्‍याएको छ।

यसअघि सूचीमा रहेका फिल्महरू प्रायः कुनै एक बजारमा अत्यधिक सफल भएका थिए। उदाहरणका लागि ‘दंगल’ (२३८ मिलियन डलर), ‘सेक्रेट सुपरस्टार’ (१३८ मिलियन डलर) र ‘बजरंगी भाइजान’ (८२ मिलियन डलर) मुख्य रूपमा चीनमा ठूलो हिट भएका थिए। ‘डिस्को डान्सर’ भने सोभियत संघमा सुपरहिट बनेको थियो।

तर ‘धुरन्धर 2’ को कमाइ भने विश्वभर समान रूपमा फैलिएको देखिन्छ। ‘बाहुबली 2’ र ‘RRR’ ले चीनमा रिलिज नगरे पनि मध्यपूर्वबाट उल्लेखनीय कमाइ गरेका थिए, तर ‘धुरन्धर 2’ ले त्यहाँ पनि रिलिज पाएन। फिल्मका दुई भाग नै गल्फ देशहरूमा प्रतिबन्धित जस्तै अवस्थामा रहेका छन्, जसको कारण यसको कथावस्तुलाई पाकिस्तान विरोधी मानिएको बताइन्छ।

यति ठूलो बजारबाट वञ्चित हुँदा पनि ५० मिलियन डलर पार गर्नु फिल्मका लागि असाधारण उपलब्धि मानिएको छ।

यस क्रममा ‘धुरन्धर 2’ ले ‘शोले’ (२८ मिलियन), ‘बबी’ (२९ मिलियन), ‘कारभान’ (३९ मिलियन), साथै पछिल्ला सुपरहिटहरू ‘पुष्पा 2’ (३१ मिलियन), ‘पीके’ (४६ मिलियन), ‘जवान’ (४७ मिलियन) र ‘पठान’ (४९ मिलियन) लाई समेत पछाडि पारेको छ।

हाल फिल्मको अन्तर्राष्ट्रिय कमाइ दैनिक १ लाख डलरभन्दा कम भइरहेकोले अब ‘RRR’ (५३ मिलियन डलर) लाई उछिन्नु चुनौतीपूर्ण देखिएको छ। तथापि, बिना प्रमुख बजारहरूको समर्थनमा हासिल गरिएको यो उचाइलाई व्यापार विश्लेषकहरूले “असाधारण ग्लोबल सफलता” भनेका छन्।

सम्बन्धित समाचार

सबै