अभिनेता रणवीर सिंह र फिल्ममेकर फरहान अख्तरबीच ‘डन ३’ बाट भएको विवाद अब अन्त्यतर्फ पुगेको देखिएको छ। लामो समयदेखि चलेको तिक्तता र आरोप–प्रत्यारोपपछि दुवै पक्षबीच समझदारीतर्फ कदम बढेको बताइएको छ।
मिडिया रिपोर्टहरू अनुसार, रणवीर सिंहले ‘डन ३’ का लागि लिएको १० करोड रुपैयाँ साइनिङ अमाउन्ट फरहान अख्तरको प्रोडक्सन हाउस एक्सेल इन्टरटेन्मेन्टलाई फिर्ता गर्ने प्रस्ताव गरेका छन्। साथै, फिल्मको प्रि–प्रोडक्सनमा खर्च भएको रकमको क्षतिपूर्ति स्वरूप उनले आफ्नो आगामी फिल्म ‘प्रलय’ मा हिस्सेदारी (इक्विटी) दिने प्रस्ताव समेत अघि सारेका छन्। प्रतिशत भने अझै तय भएको छैन।
विवादको सुरुवात रणवीर सिंहले सन् २०२५ डिसेम्बरमा ‘धुरन्धर’ रिलिजपछि अचानक ‘डन 3’ छोडेपछि भएको बताइन्छ। फरहान अख्तरले उक्त निर्णय स्वीकार नगरेपछि विषय भारतीय प्रोड्युसर्स गिल्डसम्म पुगेको थियो।
रिपोर्टहरू अनुसार एक्सेल इन्टरटेन्मेन्टले ‘डन ३’ को प्रि–प्रोडक्सनमा करिब ४० करोड रुपैयाँ खर्च गरिसकेको थियो र स्क्रिप्टका विभिन्न चरणहरूमा रणवीरको स्वीकृति पनि लिइएको दाबी गरिएको थियो।
तर रणवीर पक्षले भने फरहानले ‘डन ३’ लाई पछाडि सारेको र त्यसको कारण आफ्नो करियरमा आएको उतारचढाव भएको आरोप लगाएका थिए।
अन्ततः गिल्डले कानुनी बाटोभन्दा पनि आपसी सहमतिमा समाधान निकाल्न सुझाव दिएको थियो। हाल आएर दुवै पक्षबीच विवाद शान्त हुँदै गएको र सम्झौता नजिक पुगेको संकेत देखिएको छ।