काठमाडौं । अभिनेत्री रेखा थापा को निर्देशनमा बनेको चलचित्र माया भनेकै यस्तो होला को प्रदर्शन मिति औपचारिक रूपमा घोषणा गरिएको छ। फिल्म आगामी भदौ २६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने भएको हो।
निर्माण पक्ष र वितरकबीच भएको सहमतिअनुसार फिल्मलाई तीजको अवसर र कुशे औंसी (बुबाको मुख हेर्ने दिन) लाई लक्षित गर्दै रिलिज गर्न लागिएको हो। यसअघि तीज आसपास रिलिज हुने चर्चा भए पनि अन्तिम मिति भने हालै तय गरिएको हो।
फिल्मको वितरण जिम्मा रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनी ले संयुक्त रूपमा लिएका छन्।
८ वर्षपछि निर्देशनमा पुनरागमन गरेकी रेखा थापा यसअघि हिम्मतवाली र मालिका जस्ता फिल्म निर्देशन गरिसकेकी अनुभवी निर्देशक हुन्। माया भनेकै यस्तो होला उनको तेस्रो निर्देशकीय फिल्म हो। यसपटक उनले आफ्नै ब्यानर बाहिरबाट काम गरेकी छन्, जसलाई नेपाली फिल्म उद्योगमा महत्वपूर्ण अभ्यासका रूपमा हेरिएको छ।
दिया एण्ड अमु फिल्मस् को ब्यानरमा निर्माण भएको यस फिल्ममा कलाकारहरूको आकर्षक लाइनअप रहेको छ। फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, तथा नीति शाह मुख्य भूमिकामा छन्। विशेष भूमिकामा पूर्व मिस नेपाल उषा खड्गी को पनि अभिनय रहेको छ।
यसरी फिल्ममा चार पूर्व मिस नेपाल एकसाथ देखिनु यसको प्रमुख आकर्षण बनेको छ। साथै, लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेल लगायतको अभिनय रहेको छ।
निर्माण पक्षले यसअघि दुई पोस्टर सार्वजनिक गर्दै फिल्मको भावुक र रोमान्टिक शैली झल्काएको थियो। गत चैत २८ गते छायांकन सम्पन्न भएको फिल्म हाल पोस्ट-प्रोडक्सन चरणमा रहेको छ।
फिल्मका निर्माता हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ हुन् भने पटकथा लेखक ध्रुव लम्साल हुन्, जसले १० वर्षपछि लेखनमा पुनरागमन गरेका हुन्।
प्राविधिक पक्षमा सुदीप बराल को छायांकन, अनिरुद्ध आत्रेय को प्रमुख सहायक निर्देशन, राजन घिमिरे को फिल्म संयोजन, प्रशान्त सिवाकोटी को संगीत, सुजेनी मल्ल को ड्रेस डिजाइन, प्रिया कार्की को मेकअप र चुडामणी (सीएम) को प्रोडक्सन व्यवस्थापन रहेको छ।