काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी युवाहरूको आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका तीन जना कैदीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा लागुऔषध मुद्दाका दाङ गढवा गाउँपालिका–१ का ३६ वर्षीय विनोद कुमाल, कर्तव्य ज्यान तथा डाका चोरी मुद्दाका रामेछाप लिखु गाउँपालिका–५ धोबीका ३३ वर्षीय प्रेम तामाङ, र चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नुवाकोट पञ्चकन्या गाउँपालिका–९ का २९ वर्षीय नवराज थापा रहेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्की का अनुसार विशेष सूचनाका आधारमा उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको हो। फरार कैदीहरू लुकीछिपी बसिरहेको सूचनापछि प्रहरी टोली परिचालित गरिएको उनले बताए।
प्रहरीका अनुसार पक्राउ परेका विनोद कुमाललाई लागुऔषध मुद्दामा एक वर्ष तीन महिना कैद सजाय तोकिएको छ। त्यसैगरी प्रेम तामाङ कर्तव्य ज्यान तथा डाका चोरी मुद्दामा २५ वर्ष कैद सजाय पाउने ठहर भएका व्यक्ति हुन् भने नवराज थापा चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए।
पक्राउ परेका तीनै जनालाई बिहीबार नै पुनः केन्द्रीय कारागार सुन्धारा (जगन्नाथदेवल) मा पठाइएको प्रहरीले जनाएको छ।