‘लालीबजार’ को गीत ‘मै राम्री छु त नी’ सार्वजनिक, डिजिटल प्लेटफर्ममा चर्चा बढ्दै

0 Shares

आगामी वैशाख १८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लालीबजार’ ले आफ्नो तेस्रो गीत ‘मै राम्री छु त नी’ को सानो अंश सार्वजनिक गरेको छ। निर्माण पक्षले षट्कोण आर्ट्सको युट्युब च्यानलमार्फत सार्वजनिक गरेको उक्त गीतले रिल्स र शर्ट्समा चर्चा पाउन थालेको छ।

गीतमा दीपिका बयम्बू मगरको स्वर रहेको छ भने कोरसमा रन्जिता विश्वकर्मा, बिन्दु बिसी, सुनिता सुनार, मनोज बिक र गोविन्द अनेकको सहभागिता छ। गीतको शब्द तथा संगीत प्रकाश सपूतले तयार गरेका हुन्।

सार्वजनिक भिडियोमा फिल्मकी मुख्य पात्र स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, मुकुन्द श्रेष्ठ, जानकी कडायत लगायत कलाकारहरू देखिएका छन्। कोरियोग्राफी प्रदीप लामाले गरेका हुन्। गीतमा नारी सौन्दर्यलाई केन्द्रमा राखिएको छ र मुख्य ध्यान स्वस्तिमा खड्कामा केन्द्रित गरिएको छ।

निर्माण पक्षका अनुसार यो गीत टिकटक, फेसबुक रील्स र युट्युब शर्ट्समा प्रयोगका लागि लक्षित गरी सार्वजनिक गरिएको हो।

यसअघि सार्वजनिक गरिएको फिल्मको ट्रेलरले पनि दर्शकको राम्रो प्रतिक्रिया पाएको छ। युट्युब ट्रेन्डिङ चार्टमा स्थान बनाउन सफल ट्रेलर हाल मुभी चार्टतर्फ दोस्रो स्थानमा रहेको छ।

ट्रेलरमा स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, बाल कलाकार समाइरा थापा तथा डेब्यु कलाकार प्रशंसा सुवेदी र विशाल देवकोटाको अभिनयलाई सकारात्मक प्रतिक्रिया मिलिरहेको छ।

फिल्म आमाछोरीको सम्बन्धमा आधारित कथा हो। साथै बादी समुदायमा प्रचलित ‘नाथिया’ जस्तो कुप्रथालाई पनि कथामा समेटिएको छ। स्वस्तिमा खड्काले आमाको भूमिकामा अभिनय गरेकी छन्, जसले छोरीको सुरक्षाका लागि संघर्ष गर्ने भावनात्मक कथा प्रस्तुत गर्छ।

षट्कोण आर्ट्सले यसअघि ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता सफल फिल्म निर्माण गरिसकेको छ। यस फिल्मको निर्देशन यम थापाले गरेका हुन् भने कथा तथा पटकथा विकासमा प्रदीप भट्टराई र यम थापाको सहकार्य रहेको छ।

फिल्मको छायांकन बर्दियाको राजापुरमा गरिएको हो। प्रदर्शन मिति आगामी वर्ष २०८३ वैशाख १८ गते तोकिएको छ।

यस फिल्मका अघिल्ला गीत ‘मायालाई के दिउँ म बैना’ र ‘मिठो संसार’ पनि दर्शकमाझ लोकप्रिय बनेका छन् र डिजिटल प्लेटफर्महरूमा ट्रेन्डिङमा परेका छन्।

फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरबल चौधरी लगायतको अभिनय रहेको छ।

यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गर्दैछन्। विशाल रंगमञ्च तथा निर्देशनमा सक्रिय कलाकार हुन् भने प्रशंसा नयाँ पुस्ताकी अभिनेत्रीका रूपमा चिनिन्छिन्।

फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने निर्माता म्याक्स दीपेश खत्री र रवीन्द्र सिंह बानियाँ रहेका छन्। क्रिएटिभ निर्देशन जेबी रुवालीले गरेका छन्। द्वन्द्व निर्देशन सम्राट बस्नेत, छायांकन सुशन प्रजापती, सम्पादन मित्रदेव गुरुङ, कला निर्देशन उमेश चौधरी, संगीत प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइबाले गरेका छन्।

सम्बन्धित समाचार

सबै