‘परालको आगो’को पहिलो दिनको कमाइ निर्माताले देखाए लाइभ, दुई दिनमा कति कमायो ?

0 Shares

बैशाख ११ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘परालको आगो’ले सुरुवाती दिनमै सुखद ओपनिङ गरेको छ। निर्माण पक्षका अनुसार फिल्मले पहिलो दिनमै ३७ लाख रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गर्न सफल भएको हो।

निर्माता सुशील पोखरेलले बिज मुभिजमा पत्रकारहरूसँग कुरा गर्दै फिल्मको ओपनिङ कलेक्सन करिब ३८ लाख नजिक पुगेको जानकारी दिएका छन्। उनका अनुसार दोस्रो दिन हलहरूमा दर्शकको चाप अझ बढेकाले कलेक्सन अझै वृद्धि हुने अपेक्षा गरिएको छ।

पोखरेलले भने, “यो सुखद व्यापार हो। दर्शकले फिल्म मन पराएर पुनः हेर्न आउनुहुने विश्वास छ।”

फिल्मप्रति निर्माण पक्ष निकै उत्साहित देखिएको छ। निर्देशक लक्ष्मण सुनारले कथाअनुसार सक्दो मेहनत गरिएको बताएका छन् भने वितरक रोहित कट्टेलले दर्शकको उत्साह उल्लेखनीय रहेको बताएका छन्।

गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’ कथाबाट प्रेरित यस फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतको अभिनय रहेको छ। बाल कलाकार मन्जिलाको अभिनय दर्शकमाझ विशेष रूपमा मन पराइएको बताइएको छ।

हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्मका निर्माता सुशील पोखरेल हुन्, जो दर्शकसँग हलमै पुगेर प्रतिक्रिया लिइरहेका छन्। पटकथा तथा संवाद लेखक सुशील देवकोटा पनि हलमा उपस्थित भई दर्शकको सकारात्मक प्रतिक्रियाले उत्साहित भएका छन्।

पोखरेलले पहिलो दिनको कमाइलाई समर्थन गर्दे फिल्मको वितरण कम्पनी आरआर फिल्मस्का रोहित कट्टेलले फिल्मले दुफ दिनमा १ करोड ग्रस कमाइ गरेको दाबी गरेका छन् । उनले आफ्नो फेस्बुकमा फिल्मको कमाइसहितको पोस्टर सार्वजनिक गरेका हुन् ।

आइतबार पनि सार्वजनिक बिदा भएकाले फिल्मले शनिबारझैं व्यापार गर्ने अनुमान गरिएको छ ।

फिल्मको निर्देशन लक्ष्मण सुनारले गरेका हुन्। छायांकन संकल्प भुजेल, कोरियोग्राफी रामजी लामिछाने, सम्पादन मिलन श्रेष्ठ र रंग संयोजन कनाल कँवरले गरेका छन्।

भिएफएक्स समीर मिया र सत्यम रानाले गरेका छन् भने टिजर–ट्रेलर सम्पादन साहिल खानले गरेका हुन्। मिक्सिङ मुकेश शाह र निर्माण संयोजन नगेन्द्र घिमिरेले सम्हालेका छन्।

संगीतमा किरण तुलाधर, शान्ति ठटाल, सत्य–स्वरुप आचार्य र प्रकाश सपुत रहेका छन् भने गीतका शब्द मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतले लेखेका हुन्।

कला निर्देशन प्रतिक चौधरी र मुख्य सहायक निर्देशन करण बहादुर साउदको रहेको छ। फिल्मलाई आरआर फिल्म्सले नेपालभर वितरण गरेको छ भने डिजिटल अधिकार ओएसआरले लिएको छ।

यो फिल्म गुरु प्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश ‘परालको आगो’ कथामा आधारित हो। यसअघि पनि यही कथामा प्रताप सुब्बाको निर्देशनमा फिल्म बनिसकेको थियो।

सम्बन्धित समाचार

सबै