काठमाडौं । डेब्यु अभिनेता अशोक आर्यन अभिनित एक्सन–ड्रामा फिल्म कुम्भ को टिजर सार्वजनिक गरिएको छ। फिल्म आगामी जेठ १५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।
टिजर सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकमाझ उत्सुकता बढेको निर्माण पक्षले जनाएको छ। टिजरमा डार्क, इन्टेन्स र एक्सन–ड्रिभेन शैली स्पष्ट देखिन्छ। उत्कृष्ट ब्याकग्राउन्ड म्युजिक, आकर्षक सिनेम्याटोग्राफी र दमदार पात्र प्रस्तुतीले फिल्म ठूलो क्यानभासमा निर्माण गरिएको संकेत गरेको छ।
फिल्ममा मुख्य भूमिकामा अशोक आर्यनसँगै सुनिल थापा, सुशील पोखरेल, रोहित रुम्बा, सृष्टि खड्का, अफ्सना थापा, सुरेन्द्र ठाकुर लगायत कलाकारको अभिनय रहेको छ।
फिल्मको लेखन तथा निर्देशन रणधीर श्रेष्ठ ले गरेका हुन्। उनले गीतका शब्दसमेत लेखेका छन् भने संगीत अनुप तिवारी ले दिएका छन्। ए रस प्रोडक्सन को ब्यानरमा निर्माण भएको फिल्म नेपाली र हिन्दी भाषामा रिलिज हुनेछ। छायांकन नेपाल र दक्षिण भारतका विभिन्न स्थानमा गरिएको हो।
यसअघि सार्वजनिक गीत ‘स्वर्गकी परी’ ले पनि राम्रो चर्चा बटुलेको थियो। गीतमा अञ्जु पन्त र अनुप तिवारीको स्वर रहेको थियो। भिडियोमा अशोक आर्यन र सृष्टि खड्काबीचको केमेस्ट्री दर्शकले रुचाएका थिए।
फिल्मको छायांकन र सम्पादन निर्देशक स्वयं रणधीर श्रेष्ठले गरेका हुन्। द्वन्द्व निर्देशन संजय थापा ले गरेका छन्। फिल्मका निर्माता स्वयं निर्देशक श्रेष्ठ र राजेश साह हुन् भने कार्यकारी निर्माता ईश्वर बल्लभ उप्रेती रहेका छन्। टिजर आरएए डिजिटल नेपाल को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।